काठमाडौं । थाइल्यान्डकाे हवाई आक्रमणमा परि कम्बोडियामा चार जनाको ज्यान गएको छ । क्याम्बोडियाका सूचना मन्त्रीका अनुसार दुई सीमावर्ती प्रान्तमा थाई आक्रमणमा परि चार जना सर्वसाधारणको ज्यान गएको हो ।
नौ जना घाइते भएका र हजारौं मानिस विस्थापित भएका कम्बोडियाका सूचना मन्त्रीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
थाइल्यान्डले विवादास्पद सीमा क्षेत्रमा सैनिकहरूबीच भिडन्त भएपछि क्याम्बोडियाविरुद्ध हवाई आक्रमण गरेको बताएको छ । यस्तै थाइल्यान्डको सेनाले पनि कम्बोडियाली पक्षको आक्रमणबाट एक जना थाई सैनिकको ज्यान गएको र आठ जना घाइते भएका बताएको बीबीसीले जनाएको छ ।
सीमा विवाद चर्किएपछि गएको जुलाई महिनामा दुई देशबीच पाँच दिन युद्ध हुँदा कम्तीमा ४८ जनाको ज्यान गएको थियो ।
केही महिनाअघि मलेशिया र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको मध्यस्थतामा थाइल्यान्ड र क्याम्बोडियाले युद्धविराम गरेका थिए । तर दुवै पक्षले एकअर्कालाई त्याे सहमति उल्लङ्घन गरेको आरोप लगाएका छन् ।
विवादित सीमा नजिकै दुवै देशमा बस्ने हजारौं मानिस युद्ध चर्किने डरमा सुरक्षित ठाउँमा सर्न थालेका छन् । दुई देशबीच सय वर्षभन्दा अघिदेखि सीमा विवाद चल्दै आएको छ ।


प्रतिक्रिया