काठमाडौं । जापानको उत्तर–पूर्वी क्षेत्रमा ७ दशमलव ५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ ।
जापान मौसम एजेन्सीका अनुसार शुरूमा सुनामीको चेतावनी दिए पनि पछि सतर्कता अपनाउन भनिएको छ ।
स्थानीय समयअनुसार गएराति सवा ११ बजे समुद्र किनारबाट केही टाढा उत्पन्न भएको भूकम्पपछि १० फिटसम्मको सुनामी आउन सक्ने चेतावनी दिएको थियो ।
सुनामीको चेतावनीपछि झन्डै ९० हजार मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । होक्काइदो, आओमोरी र इवाते प्रिफेक्चरका लागि जारी चेतावनीपछि २० सेन्टीमिटरदेखि ७० सेन्टीमिटर उचाइका छालहरू विभिन्न बन्दरगाहहरूमा देखिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
आज बिहानै चेतावनीलाई परामर्शमा झारिएको र अब छालको उचाइ र क्षतिको जोखिम पहिलेको अनुमानभन्दा कम देखिएको जापानी मौसम एजेन्सीले जनाएको छ ।
भूकम्पको केन्द्र आओमोरी प्रिफेक्चरबाट झन्डै ८० किलोमिटर टाढा समुद्रभित्र ५४ किलोमिटर गहिराइमा रहेको खबरमा उल्लेख छ ।
अहिलेसम्म ठूलो मानवीय वा भौतिक क्षति नभए पनि केही मानिस घाइते भएको खबरमा उल्लेख छ । पूर्वी जापान रेलवेले केही रेलसेवाहरू स्थगित गरेको छ ।
यो क्षेत्र सन् २०११ को ९ म्याग्निच्यूडको विनाशकारी भूकम्पबाट पनि प्रभावित ठाउँ हो । त्यो बेला भूकम्प र सुनामीले झन्डै २० हजारको ज्यान गएको थियो ।
जापान विश्वकै सबैभन्दा धेरै भूकम्प जाने देशहरूमध्ये एक हो, त्यहाँ हरेक पाँच मिनेटमा एउटा भूकम्प मापन हुने गर्छ ।


प्रतिक्रिया