साझेदारहरूले सुरक्षाको ग्यारेन्टी गरे युक्रेन चुनावका लागि तयार : जेलेन्स्की

साझेदारहरूले सुरक्षाको ग्यारेन्टी गरे युक्रेन चुनावका लागि तयार : जेलेन्स्की



काठमाडौं । साझेदारहरूले सुरक्षाको ग्यारेन्टी गरे चुनावका लागि तयार रहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।

युक्रेनले चुनाव रोक्नका लागि युद्धको प्रयोग गरिरहेको दाबी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोहोर्‍याएपछि जेलेन्स्कीले चुनावका लागि तयार रहेको बताएकाे बीबीसीले जनाएको छ ।

राष्ट्रपतिका रूपमा जेलेन्स्कीको पाँच वर्षे कार्यकाल सन् २०२४ को मे महिनामा समाप्त हुने तय भएको थियो, तर रुसको आक्रमणपछि ‘मार्शल ल’ घोषणा भएपछि युक्रेनमा चुनाव स्थगित भएको छ ।

मिडिया कम्पनी ‘पोलिटिको’ सँगको अन्तर्वार्तामा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले कानून परिवर्तन गर्न सक्ने प्रस्तावहरू बनाउन आग्रह गर्ने बताउनुभएको खबरमा उल्लेख छ । अमेरिका र अन्य साझेदारहरूको सहयोगमा मतदानको सुरक्षा ग्यारेन्टी भएमा आउँदो ६० देखि ९० दिनमा चुनाव हुन सक्ने उनको भनाइ थियो ।

जेलेन्स्कीले सन् २०१९ मा ७३ प्रतिशतभन्दा धेरै मतका साथ चुनाव जितेका थिए ।