काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धविराम दाबीका बाबजुद कम्बोडियामाथि आक्रमण जारी रहने थाइल्यान्डले बताएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले दुई छिमेकी देशबीच सफलतापूर्वक युद्धविराम गराउन सफल भएको भनि गरेको दाबीका बाबजुद थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चर्नविराकुलले कम्बोडियाविरुद्ध सैन्य कारबाही जारी रहने बताएका हुन् ।
थाई प्रधानमन्त्री अनुतिनले आफ्नो भूमि र नागरिकलाई थप हानि र खतरा महसुस नभएसम्म सैन्य कारबाही जारी राख्ने सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् ।
बैंककमा रहेको संयुक्त प्रेस केन्द्रका अनुसार थाई सेनाले बिहान ६ बजेतिर कम्बोडियाली सैन्य लक्ष्यहरूविरुद्ध प्रतिशोधात्मक आक्रमण गरेको थियो । कम्बोडियाले थाई लडाकु विमानहरूले आफ्ना भू–भागमा बम खसालेको आरोप लगाएको छ ।
यसबारे प्रतिक्रिया दिँदै थाई नौसेनाका प्रवक्ताले द्वन्द्व क्षेत्रमा हतियार ढुवानी गर्न प्रयोग हुँदै आएका कम्बोडियाका दुई वटा पुल ध्वस्त पारिएको जानकारी दिए ।
शुक्रवार अमेरिकी राष्ट्रपति ट्रम्पले थाई प्रधानमन्त्री अनुटिन र कम्बोडियाका प्रधानमन्त्री हुन मानेटसँग भएको फोनवार्तापछि दुवै देशले तत्काल गोलीबारी रोक्ने सहमति गरेको दाबी गरेका थिए । तर दुवै पक्षले एकअर्कामाथि युद्धविराम उल्लङ्घनको आरोप लगाइरहेका छन् ।
यसअघि अमेरिका, चीन र आसियान अध्यक्ष मलेशियाको मध्यस्थतामा जुलाईमा दुई देशबीच युद्धविराम भएको थियो । तर सीमामा बारुदी सुरुङ विस्फोटमा थाई सैनिक घाइते भएपछि नोभेम्बरमा यो सम्झौता स्थगित गरिएको थियो ।
थाइल्यान्ड र कम्बोडियाबीचको झडप औपनिवेशिक कालमा तय गरिएको झन्डै आठ सय किलोमिटर लामो सीमासम्बन्धी विवादका कारण यस महिनादेखि पुनः चर्किएको हो । यस द्वन्द्वका कारण दुवै देशमा गरि झन्डै पाँच लाख मानिस विस्थापित भएका छन् भने पछिल्लो हप्ता मात्र कम्तीमा २० जनाको ज्यान गएको छ ।


प्रतिक्रिया