कम्बोडिया सीमामा झडप बढ्दै गएपछि थाइल्यान्डद्वारा तटीय क्षेत्रमा कर्फ्यू घोषणा

कम्बोडिया सीमामा झडप बढ्दै गएपछि थाइल्यान्डद्वारा तटीय क्षेत्रमा कर्फ्यू घोषणा



काठमाडौं । कम्बोडिया सीमामा झडप बढ्दै गएपछि थाइल्यान्डले तटीय क्षेत्रमा कर्फ्यू घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देश युद्ध रोक्न सहमत भएको दाबी गरेको दुई दिनपछि कम्बोडियासँगको लडाइँ विवादित सीमा क्षेत्रको तटीय क्षेत्रहरूमा फैलिएपछि थाइल्यान्डले दक्षिणपूर्वी त्राट प्रान्तमा कर्फ्यू घोषणा गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

गएको मे महिनामा भएको झडपमा एक कम्बोडियन सैनिकको ज्यान गएपछि दक्षिणपूर्वी एशियाली छिमेकीहरूबीच यस वर्ष धेरै पटक झडप भएको छ ।

थाई रक्षा मन्त्रालयका प्रवक्ता रियर एडमिरल सुरसान्त कोङ्सिरीले कर्फ्यू घोषणा गरेपछि बैंककमा पत्रकार सम्मेलनमा थाइल्यान्ड कूटनीतिक समाधानका लागि खुला रहेको तर वार्ताअघि कम्बोडियाले पहिले शत्रुता बन्द गर्नुपर्ने बताएका छन् ।

थाइल्यान्डको कर्फ्यूले कोह चाङ र कोह कुडका पर्यटकीय टापुहरूबाहेक कोह कोङको छिमेकी त्राट प्रान्तका पाँच जिल्लालाई समेट्छ । सेनाले पहिले पूर्वी साकेओ प्रान्तमा कर्फ्यू लगाएको थियो जुन अझै पनि लागू छ ।

थाइल्यान्ड र कम्बोडियाले गएको सोमवारदेखि सीमा क्षेत्रमा धेरै ठाउँमा गोलीबारी गरेका छन् । गएको जुलाईमा ट्रम्प र मलेशियाली मध्यस्थतामा समाप्त भएको पाँच दिने झडपपछि यो सबैभन्दा तीव्र लडाइँ हो ।

ट्रम्पले गएको शुक्रवार थाइल्यान्डका कामचलाउ प्रधानमन्त्री अनुतिन चर्नविराकुल र कम्बोडियाली प्रधानमन्त्री हुन मानेटसँग कुरा गरेको र उनीहरू गोलीबारी बन्द गर्न सहमत भएको बताएका थिए ।

हिजो मात्रै थाई प्रधानमन्त्री अनुतिनले आफ्नो भूमि र नागरिकलाई हानि र खतरा महसुस भएसम्म कम्बोडियाविरुद्ध सैन्य कारबाही जारी रहने घोषणा गरेका थिए ।

यसैबीच थाइल्यान्डको सेनाले सार्वभौम क्षेत्र पुनः दाबी गर्न कम्बोडियाविरुद्ध नयाँ आक्रमण शुरू गरेको छ । हिजो कम्बोडियाले उत्तरी छिमेकी थाइल्यान्डसँगको सबै सीमानाका बन्द गर्ने घोषणा गरेको थियो ।

थाइल्यान्ड र कम्बोडियाबीचको झडप औपनिवेशिक कालमा तय गरिएको झन्डै आठ सय किलोमिटर लामो सीमासम्बन्धी विवादका कारण यस महिनादेखि पुनः चर्किएको हो । झडपमा कम्तीमा २५ सैनिक र सर्वसाधारणको ज्यान गएको छ र दुवै पक्षका पाँच लाखभन्दा धेरै मानिसहरू विस्थापित भएका छन् ।