मोरक्कोमा अचानक आएको बाढीका कारण कम्तीमा ३७ जनाको ज्यान गयो

मोरक्कोमा अचानक आएको बाढीका कारण कम्तीमा ३७ जनाको ज्यान गयो



काठमाडौं । मोरक्कोको तटीय साफी क्षेत्रमा अचानक आएको बाढीका कारण कम्तीमा ३७ जनाको ज्यान गएको छ । आइतवार मुसलधारे वर्षापछि मुख्य बन्दरगाह शहर साफीमा कार र फोहोरका थुप्रो बगेका सरकारी टेलिभिजनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

स्थानीय अधिकारीहरूका अनुसार बाढीमा परि घाइते भएकाहरूको अस्पतालमा उपचार भइरहेको छ । बाढीका कारण पुरानो शहरको केन्द्रमा कम्तीमा ७० वटा घर डुबानमा परेका खबरमा उल्लेख छ ।

स्थानीय संवाददाताहरूले क्षति र भग्नावशेषका कारण केही सडकहरूमा शहर भित्र र बाहिर पहुँच अवरुद्ध भएको बताएका छन् ।

मोरक्कोका अधिकारीहरूले खोज र उद्धार अभियान अझै चलिरहेको बताएका छन् । विज्ञहरूका अनुसार उत्तर अफ्रिकी देश मोरक्कोमा देखिएको चरम मौसमी उतारचढावका लागि जलवायु सङ्कट आंशिक रूपमा जिम्मेवार छ ।

मोरक्कोमा लगातार सात वर्षसम्म खडेरी पर्दा जलाशयहरू घट्दै गएका छन् । यस्तै गएको वर्ष आधिकारिक रूपमा रेकर्ड गरिएको सबैभन्दा तातो वर्ष बनेको थियो ।

मोरक्कोको मौसम सेवाले पछिल्लो मुसलधारे वर्ष भोलि पनि जारी रहने र एटलस पर्वतहरूमा हिमपात पनि हुने चेतावनी दिएको छ ।