काठमाडौं । भारतको आतङ्कवाद विरोधी प्रमुख निकायले भारत प्रशासित काश्मीरमा पर्यटकहरूलाई लक्षित गरी गरिएको घातक आक्रमणको घटनामा संलग्न भएको आरोपमा ६ जनाविरुद्ध अभियोग दर्ता गरेको छ ।
आक्रमणका लागि पाकिस्तानलाई जिम्मेवार ठहर गरेको भारतीय अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
अभियोग लगाइएकामध्ये तीन जनाले ज्यान गुमाएका छन् भने दुई जना अहिले भारतीय हिरासतमा रहेका छन् । गएको अप्रिलमा भएको आक्रमणमा २६ जनाको ज्यान गएको थियो, जसमा अधिकांश हिन्दू पर्यटकहरू रहेका थिए । घटनापछि भारत र पाकिस्तानबीच तनाव चुलिँदै छोटो अवधिको तर तीव्र द्वन्द्वको अवस्था सिर्जना भएको थियो ।
भारतले काश्मीरको प्रसिद्ध रिसोर्ट सहर पहलगाममा भएको आक्रमणलाई पाकिस्तानको समर्थनमा गरिएको आक्रमणका रूपमा व्याख्या गरेको छ । तर इस्लामाबादले भने यस आरोपलाई स्पष्ट रूपमा अस्वीकार गर्दै आएको छ । प्रारम्भमा ‘द रेजिस्टेन्स फ्रन्ट’ (टीआरएफ) नामक समूहले आक्रमणको जिम्मेवारी लिएको दाबी गरेको थियो ।


प्रतिक्रिया