युक्रेनलाई ९० अर्ब युरो ऋण उपलब्ध गराउन ईयू नेताहरू सहमत

युक्रेनलाई ९० अर्ब युरो ऋण उपलब्ध गराउन ईयू नेताहरू सहमत



काठमाडौं । युरोपेली सङ्घ (ईयू) का नेताहरू युक्रेनलाई ९० अर्ब युरो ऋण उपलब्ध गराउन सहमत भएका छन् । ईयू नेताहरूले यो सम्झौताले आउँदो दुई वर्षका लागि युक्रेनको सैन्य र आर्थिक आवश्यकताहरू पूरा गर्ने बताएका बीबीसीले जनाएको छ ।

बेल्जियमको राजधानी ब्रसेल्समा भएको शिखर सम्मेलनमा भएको वार्तापछि यो निर्णय भएको हो । ईयू प्रमुख एन्टोनियो कोस्टाले युक्रेनका लागि ऋण युरोपेली सङ्घको साझा बजेटद्वारा ग्यारेन्टी गरिने सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् ।

यसअघि युरोपेली नेताहरूले युक्रेनसँगको युद्धका कारण फ्रिज गरिएका रुसी सम्पत्तिहरू प्रयोग गर्ने कि नगर्ने भन्नेबारेमा छलफल गरेका थिए । तर यो विषयमा भने सहमति हुन सकेन ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ईयू नेताहरूलाई २०० अर्ब युरो बराबरको जम्मा गरिएको रुसी सम्पत्ति प्रयोग गर्न अपील गरेका थिए ।

झन्डै चार वर्षदेखि चलिरहेको युद्धका कारण युक्रेनको अर्थतन्त्र अत्यन्तै दबावमा परेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२६ र २०२७ मा युक्रेनलाई झन्डै १ खर्ब ३७ अर्ब युरो आवश्यक पर्ने अनुमान सार्वजनिक गरिसकेको छ ।

युरोपमा प्रायः बेल्जियममा रहेको झन्डै २ खर्ब १० अर्ब युरो बराबरका रुसी सम्पत्तिहरू फ्रिज अवस्थामा रहेका छन् । तीमध्ये केही सम्पत्ति प्रयोग गरी युक्रेनलाई सहयोग गर्ने प्रस्ताव अघि सारिएको थियो । तर बेल्जियमले यसलाई कानूनी रूपमा जोखिमपूर्ण भन्दै आपत्ति जनाएपछि सहमति जुट्न सकेन ।

यसैबीच शान्ति योजनामा थप वार्ताका लागि अमेरिकी र रुसी अधिकारीहरू यस सप्ताहन्तमा मियामीमा भेट्ने तय भएको छ जसमा युक्रेनी र अमेरिकी प्रतिनिधिमण्डलहरूले पनि छुट्टाछुट्टै वार्ता गर्ने अपेक्षा छ ।