दक्षिण अफ्रिकाको जाेहानेसबर्ग नजिकै गोली चल्दा ९ जनाको ज्यान गयो

दक्षिण अफ्रिकाको जाेहानेसबर्ग नजिकै गोली चल्दा ९ जनाको ज्यान गयो



काठमाडौं । दक्षिण अफ्रिकाको जोहानेसबर्ग शहर नजिकै रहेको एक बारमा गोली चल्दा कम्तीमा ९ जनाको ज्यान गएको छ ।

जोहानेसबर्ग नजिकैको बेकरसडलमा दुई वटा गाडीमा आएका बन्दुकधारीहरूले ग्राहकहरूमाथि गोली चलाउँदा ७ पुरुष र २ महिलाको ज्यान गएको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । बन्दुकधारीहरूले केही मानिसहरूलाई सडकमा जथाभाबी गोली हानेर हत्या गरेको खबरमा उल्लेख छ ।

दक्षिण अफ्रिका विश्वमै सबैभन्दा धेरै हत्या दर भएका देशहरूमध्ये एक हो । प्रहरीको तथ्याङ्क अनुसार यस वर्ष अप्रिलदेखि सेप्टेम्बरसम्ममा हरेक दिन औसतमा ६३ जनाको हत्या भएको छ ।

दक्षिण अफ्रिकामा कानूनी रूपमा राखिएका झन्डै ३० लाख हतियार छन्, तर ६ करोड ३० लाख जनसङ्ख्या भएको देशमा कम्तीमा त्यति नै सङ्ख्यामा विना इजाजतपत्र हतियारहरू प्रचलनमा छन् ।

यस महिनाको शुरूमा प्रिटोरिया नजिकैको एक होस्टेलमा एक बच्चासहित कम्तीमा ११ जनाको गोली हानी हत्या भएको थियो ।

यसैबीच प्रहरीले आक्रमणमा संलग्न संदिग्धहरूको खोजी शुरू गरेका छन् ।