काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाका कट्टर विरोधी उस्मान हादीमाथि १२ डिसेम्बरमा ढाकोको विजयनगर क्षेत्रमा गोली प्रहार भयो ।
चुनावी अभियानका क्रममा इन्कलाब मञ्चका प्रवक्तासमेत रहेका ३२ वर्षीय हादीमाथि नकाब लगाएका बन्दुकधारीहरूले टाउकोमा गोली हानेका थिए । गम्भीर घाइते हादीलाई उपचारका लागि सिंगापुर लगियो । उनको उपचारका क्रममा बिहीबार (१८ डिसेम्बर) मृत्यु भएको थियो ।
यो घटनापछि पूरै बंगलादेशमा नयाँ चरणको हिंसा जारी छ । तर, घटना भएको १० दिन बित्दा पनि हादी हत्याका दोषीहरूबारे बंगलादेश प्रहरीले कुनै क्लु भेट्टाउन सकेको छैन । बंगलादेश प्रहरीले आइतबार (डिसेम्बर २१ मा) आफूहरूसँग शरीफ उस्मान हादीको हत्याका मुख्य संदिग्धको ठाउँबारे कुनै ‘विशिष्ट जानकारी’ नभएको बताएको छ ।
हादीको इन्कलाब मञ्च पार्टीले अन्तरिम सरकारलाई २४ घण्टाको अल्टिमेटम दिएको एक दिनपछि प्रहरीको यो भनाइ आएको हो । पार्टीले आफ्ना नेताको हत्याका लागि जिम्मेवार व्यक्तिहरूको गिरफ्तारीमा ‘स्पष्ट प्रगति’ हुनुपर्ने बताएको थियो ।
गृह मन्त्रालयमा आयोजित आकस्मिक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अतिरिक्त प्रहरी महानिरीक्षक (आईजीपी) खान्देकर रफिकुल इस्लामले कानुन प्रवर्तन एजेन्सीहरूले गोलीबारीमा संलग्न बन्दुकधारीको रूपमा चिनिएका फैसल करिम मसूदको खोजी सक्रिय रूपमा गरिरहेका बताएका थिए ।
उनले भने, “हामीसँग फैसलको अन्तिम ठाउँबारे कुनै विशिष्ट जानकारी छैन । हाम्रा सेना र गुप्तचर एजेन्सीहरू यसलाई प्राप्त गर्न काम गरिरहेका छन् ।”


प्रतिक्रिया