काठमाडौं । बंगलादेशमा शेख हसिनाविरोधी नेसनल सिटिजन्स पार्टी (एनसीपी) का नेता मोहम्मद मोतालेब शिकदरमाथि सोमबार दिउँसो गोली प्रहार भएको छ ।
दिउँसो १२ बजे खुलनामा रहेको उनको घरभित्र पसेर गोली प्रहार गरिएको त्यहाँको प्रहरीले जनाएको छ । बंगलादेशी सञ्चारमाध्यमका रिपोर्टअनुसार हमलाकारीले मोतालेबको टाउकोलाई निशाना बनाएर गोली चलाएका थिए ।
गम्भीर घाइते भई भुइँमा ढलेका मोतालेबलाई वरिपरिका मानिसहरूले तुरुन्तै उठाएर खुलना मेडिकल कलेज अस्पताल पुर्याएका थिए, जहाँ उनको उपचार भइरहेको छ । प्रहरीका अनुसार सुरुमा उनको अवस्था निकै नाजुक थियो । डाक्टरहरूले गोली कानको छेउबाट पार भएको बताएका छन् । प्रहरी अधिकारी अनिमेष मण्डलले गोली दिमागसम्म नपुगेकाले उनको ज्यान जोगिएको बताएका छन् ।
मोतालेब शिकदर एनसीपीको खुलना डिभिजनका प्रमुख हुन् र पार्टीसँग सम्बन्धित मजदुर संगठन एनसीपी श्रमिक शक्तिका आयोजक पनि हुन् ।


प्रतिक्रिया