काठमाडौं । ताइवानलाई हतियार बिक्री गरेको आरोपमा चीनले अमेरिकी रक्षा कम्पनीहरूमाथि प्रतिबन्ध लगाएको छ । चिनियाँ विदेश मन्त्रालयले १० व्यक्ति र २० अमेरिकी रक्षा फर्मलाई लक्षित गरि प्रतिबन्धको घोषणा गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।
प्रतिबन्धमा पर्नेमा विश्वकै ठूलो एअरोस्पेस निर्माताहरूमध्ये एक बोइङ पनि समावेश छ । प्रतिबन्धमा परेका कम्पनी र व्यक्तिहरूको चीनमा रहेका सम्पत्ति रोक्का हुने खबरमा उल्लेख छ । साथै चीनभित्रका संस्था र व्यक्तिहरूलाई उनीहरूसँग व्यापार गर्नबाट रोक लगाइने मन्त्रालयले भनेको छ ।
गएको हप्ता अमेरिकाले ताइवानलाई ११ अर्ब १० करोड अमेरिकी डलरकोे हतियार बिक्रीको घोषणा गरेपछि चीनले यो कदम चालेको हो । ताइवानका लागि अहिलेसम्मकै ठूलो अमेरिकी हतियार प्याकेजले चीनमा आक्रोश निम्त्याएको छ ।
ताइवान मुद्दा चीनको मुख्य चासोको केन्द्रबिन्दु रहेको र यो मुद्दा चीन–अमेरिका सम्बन्धमा आउन नहुने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले विज्ञप्तिमार्फत बताएका छन् ।
ताइवान मुद्दामा सीमा नाघ्ने कुनै पनि उत्तेजक कार्यलाई चीनले कडा प्रतिक्रिया दिने र ताइवानलाई हतियार प्रदान गर्ने खतरनाक प्रयासहरू बन्द गर्न आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया