काठमाडौं । सैन्य ‘कु’ पछि म्यान्मारमा आज पहिलो पटक आमचुनाव हुँदैछ । सन् २०२१ मा नोबेल पुरस्कार विजेता आङ सान सुकीको लोकतान्त्रिक सरकारलाई अपदस्थ गरेपछि सैन्य शासनको नेतृत्वमा यो विवादित चुनाव भइरहेको हो ।
देशभरका ३ सय ३० मध्ये झन्डै एक तिहाइ क्षेत्रमा मात्र आज मतदान भइरहेको छ । गृहयुद्धका कारण ६५ वटा निर्वाचन क्षेत्रमा मतदान पूर्ण रूपमा रद्द गरिएको छ भने झन्डै २० प्रतिशत नागरिक मतदानको अधिकारबाट वञ्चित भएका छन् ।
ठूला सहरहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ र पहिलो पटक इलेक्ट्रोनिक भोटिङ मेसिनको प्रयोग गरिएको छ । यद्यपि, संयुक्त राष्ट्र सङ्घ र अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूले यो चुनावलाई ‘एकतर्फी र निष्पक्ष नभएको’ भन्दै आलोचना गरेका छन् । सुकीको दल एनएलडीलाई विघटन गरिएको छ भने मतपत्रमा सैनिक निकट पार्टीहरूको मात्रै वर्चस्व देखिएको छ ।
चुनावमा युवाहरूको उपस्थिति नगन्य रहेको र केवल मध्यम उमेरका मानिसहरू मात्र देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सैन्य प्रमुख मिन आङ ह्लाइङले यो चुनावलाई शान्ति र आर्थिक सुधारको नयाँ शुरुआत भने पनि म्यान्मारका नागरिकहरू विभाजित देखिएका छन् ।
सन् २०२१ को ‘कु’ यता भएका हिंसामा परी ९० हजारभन्दा बढीको ज्यान गइसकेको छ भने लाखौँ मानिस विस्थापित भएका छन् । चुनावको अर्को चरण आउँदो जनवरी ११ र जनवरी २५ तारिखमा हुनेछ ।


प्रतिक्रिया