ताइपेई । ताइवानको उत्तरपूर्वी तटीय क्षेत्रलाई केन्द्रविन्दु बनाएर शनिबार ७.० रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । ताइवानको प्रशासनका अनुसार यिलान सहरबाट करिब ३२ किलोमिटर टाढा समुद्रमा ७३ किलोमिटर गहिराइमा भूकम्पको केन्द्रविन्दु रहेको थियो ।
भूकम्पको धक्का राजधानी ताइपेईसहित टापुभरि महसुस गरिएको थियो, जसका कारण अग्ला भवनहरू निकै बेरसम्म हल्लिएका थिए । भूकम्प शक्तिशाली भए तापनि केन्द्रविन्दु जमिनभन्दा निकै गहिरो र समुद्रमा भएकाले ठुलो धनजनको क्षति भने हुन नपाएको प्रारम्भिक प्रतिवेदनले देखाएको छ ।
सरकारका अनुसार केही स्थानमा ग्यास र पानीको पाइप फुट्ने तथा भवनहरूमा सामान्य क्षति पुग्ने बाहेक अन्य ठुलो दुर्घटना भएको छैन । यद्यपि, यिलान क्षेत्रका ३ हजारभन्दा बढी घरधुरीमा केही समय विद्युत् आपूर्ति बन्द भएको थियो । ताइवानको प्रमुख चिप निर्माता कम्पनी टीएसएमसीले आफ्ना केही प्लान्टबाट कर्मचारीहरूलाई सुरक्षित बाहिर निकाले पनि स्थिति सामान्य भएपछि उनीहरू काममा फर्किसकेका छन् ।
ताइवानका राष्ट्रपति लाइ चिङ–तेले सामाजिक सञ्जालमार्फत स्थिति नियन्त्रणमा रहेको जानकारी दिँदै नागरिकहरूलाई सतर्क रहन अपिल गरेका छन् । प्रशासनले आगामी दिनमा ५.५ देखि ६.० रेक्टर स्केलसम्मका पराकम्पनहरू जान सक्ने चेतावनी दिएको छ ।
दुईवटा टेक्टोनिक प्लेटको संगमस्थलमा रहेको ताइवान भूकम्पको उच्च जोखिममा रहेको क्षेत्र हो । यसअघि सन् १९९९ मा ७.३ रेक्टर स्केलको भूकम्प जाँदा ताइवानमा दुई हजारभन्दा बढी मानिसको ज्यान गएको थियो ।


प्रतिक्रिया