पेरिस । युक्रेनका प्रमुख सहयोगीले मङ्गलबार पेरिसमा शीर्ष अमेरिकी दूतसँग सुरक्षा ग्यारेन्टीबारे छलफल गर्न भेला हुने बताइएको छ । उनीहरूले रूससँगको युद्ध अन्त्य गर्ने अमेरिकी योजनामा अगाडि बढिरहेको अवस्थामा छलफल हुन लागेको बताइएको छ ।
दोस्रो विश्वयुद्ध पछिको युरोपको सबैभन्दा घातक द्वन्द्व अन्त्य गर्ने कूटनीतिक प्रयासले पछिल्लो समयमा गति लिएको जनाइएको छ । युक्रेन समर्थकको समूहको शिखर सम्मेलनलाई “कोएलिशन अफ द विलिङ” भनिन्छ जुन नयाँ वर्षका लागि योजना गरिएको बैठक मध्ये पछिल्लो हो ।
छलफलका लागि २७ राष्ट्र प्रमुखसहित ३५ देशका प्रतिनिधि पेरिसमा भेला हुने उल्लेख गर्दै फ्रान्सेली राष्ट्रपति म्याक्रोनले युक्रेनको सुरक्षा ग्यारेन्टीमा वासिङ्टन, किएभ र युरोपेली सहयोगी संयुक्त प्रयास गर्ने उद्देश्य रहेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकोफ लगायत फ्रान्स र बेलायतले गठबन्धनको बैठकमा भाग लिने जनाइएको छ ।
फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनका सल्लाहकारले “संयुक्त राज्य अमेरिकाले युक्रेनलाई त्याग्नबाट” रोक्नका लागि डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा आइपुगेपछि सुरु गरिएका प्रयास स्वरुप नयाँ बैठक भएको बताएका छन् । युक्रेन, युरोप र अमेरिकाबिचको पुनः संयोजनको यस अभ्यासमा सफल भएको उनले सोमबार पत्रकारलाई बताए ।
कूटनीतिक स्रोतका अनुसार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, बेलायती प्रधानमन्त्री कीर स्टारमर, जर्मन चान्सलर फ्रेडरिक मेर्ज, इटालीका जर्जिया मेलोनी र क्यानडाका मार्क कार्नी पनि सहभागी हुने अपेक्षा गरिएको छ । उनीहरुले विशेष गरी युक्रेन र रूसबिच युद्धविराम कस्तो देखिन्छ भन्ने साझा दृष्टिकोण र उल्लङ्घनको अवस्थाको प्रतिक्रियामा प्रतिबद्ध हुन तयार रहेको जनाएका छन् ।
उनीहरूले सम्भावित राजनीतिक सम्झौताको एक हिस्साको रूपमा “युक्रेनलाई आश्वासन दिन” बहुराष्ट्रिय बल तैनाथ गर्ने बारेमा पनि छलफल गर्ने फ्रान्सेली राष्ट्रपति म्याक्रोनले बताउनु भएको छ । छलफलको आधार तयार गर्न, बेलायत, फ्रान्स र जर्मनीलगायत १५ देशका सुरक्षा सल्लाहकार साथै नेटो र युरोपेली सङ्घका प्रतिनिधि यस अघि भर्चुअलरूपमा सहभागी भएका थिए ।
पछिल्लो समयमा सम्झौता “९० प्रतिशत” तयार रहेको किएभले बताएको छ । यद्यपि मस्को र किभ दुवै युद्धपछिको सम्झौताका प्रमुख मुद्दामा मतभेदमा छन् । युक्रेनको करिब २० प्रतिशत ओगटेको रूसले सम्झौताको एक हिस्साका रूपमा देशको पूर्वी डोनबास क्षेत्रमा पूर्ण नियन्त्रणको लागि दबाब दिइरहेको छ । तर किएभले मस्कोलाई चेतावनी दिदै फेरि आक्रमण गर्नबाट रोक्ने र असफल हुने शान्ति सम्झौतामा हस्ताक्षर नगर्ने बताएको छ ।


प्रतिक्रिया