इरानमा भएको प्रदर्शनमा कम्तीमा ३५ जनाको ज्यान गयो

इरानमा भएको प्रदर्शनमा कम्तीमा ३५ जनाको ज्यान गयो



काठमाडौं । इरानमा महँगीको विरुद्धमा शुरू भएको प्रदर्शनमा कम्तीमा ३५ जनाको ज्यान गएको छ । प्रदर्शनका क्रममा एक हजार दुई सय जनाभन्दा धेरै प्रदर्शनकारीलाई प्रहरीले हिरासतमा राखेको मानवअधिकार कार्यकर्ताहरूलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ ।

एक हप्ताभन्दा धेरै समयदेखि चलिरहेको प्रदर्शनमा २९ प्रदर्शनकारी, चार बालबालिका र सुरक्षा बलका दुई सदस्यको ज्यान गएको खबरमा उल्लेख छ । देशका ३१ मध्ये २७ प्रान्तका दुई सय ५० भन्दा धेरै ठाउँमा प्रदर्शन फैलिएको छ ।

प्रदर्शनमा भएको झडपका क्रममा झन्डै दुई सय ५० प्रहरी र रिभोलुसनरी गार्डका बासिज स्वयंसेवक बलका ४५ सदस्य घाइते भएका छन् । यद्दपि सरकारले ज्यान गुमाउने र घाइतेको समग्र विवरण सार्वजनिक गरेको छैन ।

यसैबीच इरानमा भएको प्रदर्शन हिंसात्मक बन्दै जाँदा अन्तर्राष्ट्रिय ध्यान तानेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्तिपूर्ण प्रदर्शनकारीको हत्या भएमा अमेरिकाले हस्तक्षेप गर्न सक्ने चेतावनी दिनुभएको छ । ट्रम्पको यो चेतावनीप्रति इरानी अधिकारीहरूले कडा प्रतिक्रिया जनाएका छन् ।

सन् २०२२ मा महसा अमिनीको हिरासतमा ज्यान गएपछि देखिएको आन्दोलनयता यो सबैभन्दा ठूलो विरोध प्रदर्शन मानिएको छ । प्रतिबन्ध, युद्धको असर र मुद्राको तीव्र अवमूल्यनले जनआक्रोश बढाएको छ ।