शान्ति सम्झौता भएमा बेलायत र फ्रान्सले युक्रेनमा सेना पठाउने

शान्ति सम्झौता भएमा बेलायत र फ्रान्सले युक्रेनमा सेना पठाउने



काठमाडौं । रुससँग शान्ति सम्झौता भएमा बेलायत र फ्रान्सले युक्रेनमा सेना पठाउने भएका छन् । शान्ति सम्झौता भएमा युक्रेनमा सेना तैनाथ गर्ने आशयको घोषणापत्रमा बेलायत र फ्रान्सले हस्ताक्षर गरेका बीबीसीले जनाएको छ ।

फ्रान्सको पेरिसमा युक्रेनका सहयोगीहरूसँगको वार्तापछि बेलायती प्रधानमन्त्री सर केअर स्टार्मरले भविष्यमा हुने आक्रमणलाई रोक्न बेलायत र फ्रान्सले युक्रेनभरि सैन्य केन्द्रहरू स्थापना गर्ने बताउनुभएको खबरमा उल्लेख छ । यस्तै फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले हजारौँ सेना तैनाथ गर्न सकिने बताएका छन् ।

सहयोगीहरूले युक्रेनका लागि बलियो सुरक्षा ग्यारेन्टीहरूमा पनि सहमति जनाएका छन् र युद्धविरामको अनुगमनमा अमेरिकाले नेतृत्व लिने प्रस्ताव गरेका छन् । तर युक्रेनको मुख्य मुद्दाबारे अझै छलफल भइरहेको छ ।

रुसले युक्रेनमा कुनै पनि विदेशी सेनालाई स्वीकार नगर्ने बारम्बार चेतावनी दिँदै आएको छ । पेरिसमा भएको घोषणामा रुसले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।

गएको हप्ता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति सम्झौता ९० प्रतिशत तयार भएको बताउनुभएको थियो । शान्ति वार्ताकारहरूले क्षेत्र र सुरक्षा ग्यारेन्टीको विषय टुङ्ग्याउन सकिरहेका छैनन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी डोनबासबाट युक्रेनी सेना फिर्ता हुनुपर्ने अन्यथा रुसले कब्जा गर्ने बताउनुभएको छ । यस्तै जेलेन्स्कीले अहिलेसम्म कुनै पनि क्षेत्र त्याग्ने कुरालाई अस्वीकार गर्दै आएका छन् ।