काठमाडौं । भेनेजुएलाका गृहमन्त्री डियोसडाडो काबेयोले अमेरिकी आक्रमणका क्रममा १ सय जनाको ज्यान गएको दाबी गरका छन् । राजधानी काराकसमा गएराति राज्य टेलिभिजनमार्फत बोल्दै गृहमन्त्री काबेयोले गएको शनिवार भएको अमेरिकी सैन्य कारबाहीमा ठूलो मानवीय क्षति भएको बताएको रोयर्टसले जनाएको छ ।
आक्रमणपछि राष्ट्रपति निकोला मदुरोलाई अमेरिकी सेनाले पक्राउ गरेको थियो । यसअघि भेनेजुएला सरकारले ज्यान गुमाउनेको आधिकारिक संख्या सार्वजनिक गरेको थिएन । यद्यपि सेनाले आफ्ना २३ जना सैनिकको ज्यान गएको नामावली भने सार्वजनिक गरेको थियो । भेनेजुएलाली अधिकारीहरूका अनुसार राष्ट्रपति मदुरोको सुरक्षा टोलीका धेरै सदस्यहरू आक्रमणमा मारिएका हुन् ।
यसैबीच, क्यूबाले पनि भेनेजुएलामा कार्यरत आफ्ना सैन्य तथा गुप्तचर सेवाका सदस्यहरू मारिएको जनाएको छ । गृहमन्त्री काबेयोका अनुसार, आक्रमणका क्रममा पक्राउ परेकी राष्ट्रपति मदुरोकी पत्नी सिलिया फ्लोरेसको टाउकोमा चोट लागेको छ भने मदुरोको खुट्टामा चोट लागेको छ ।
घटनापछि भेनेजुएला सरकारले आक्रमणमा मारिएका सैनिकहरूको सम्झनामा एक हप्ताको राष्ट्रिय शोक घोषणा गरेको छ । अमेरिकी आक्रमणपछि भेनेजुएलामा राजनीतिक अस्थिरता बढ्दै गएको छ भने अन्तर्राष्ट्रिय स्तरमा पनि यस घटनाले चासो र विवाद सिर्जना गरेको छ ।


प्रतिक्रिया