काठमाडाैं । अस्ट्रेलियामा ‘हिट वेभ’ अर्थात् तातो हावाको लहरसँगै विनाशकारी आगलागीको चेतावनी जारी भएको छ । क्वीन्सल्यान्डबाहेक अस्ट्रेलियाका सबै राज्य तथा क्षेत्रमा गम्भीरदेखि चरम ‘हिट वेभ’ को घोषणासँगै आगलागी जोखिमको सबैभन्दा माथिल्लो दर विनाशकारीको चेतावनी जारी भएको बीबीसीले जनाएको छ ।
अस्ट्रेलियाको आगलागी जोखिम मापदण्डमा चार स्तर छन् । विनाशकारी सर्वोच्च स्तर हो । त्यसपछि चरम, उच्च र न्यून आउँछन् । पश्चिमी अस्ट्रेलियाका केही तटीय शहरहरूमा तापक्रम ४९ डिग्री सेल्सियससम्म पुगेको छ ।
भिक्टोरिया राज्यले शुक्रवारका लागि साढे चार सयभन्दा धेरै विद्यालय र बालबालिका हेरचाह केन्द्रहरू बन्द गरेको छ । आज पनि भिक्टोरिया र न्यू साउथ वेल्समा आगलागीका घटनाहरू चरमरूपमा बढेका छन् ।
मौसमविद्हरूले अस्ट्रेलियाका केही भागमा ‘हिट वेभ’ बढेर सन् २०१९–२०२० को विनाशकारी ब्ल्याक समर जङ्गली आगोपछिको सबैभन्दा गम्भीर अवस्था आउने चेतावनी दिएका छन् । मौसमविद्ले शुक्रवार र शनिवार ‘हिट वेभ’ र आगलागीको उच्च जोखिम रहने भन्दै सावधानी र तयारीका लागि अनुरोध गरेका छन् ।


प्रतिक्रिया