काठमाडौं । इरानमा अमेरिकाले हस्तक्षेप गर्ने सम्भावना बढेपछि इजरायलले उच्च सतर्कता अपनाएको छ । अमेरिकाले हस्तक्षपेप गरेमा इजरायलमा समेत आक्रमण गर्ने भन्दै इरानले चेतावनी दिएपछि इजरायलले उच्च सकर्तता अपनाएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि हस्तक्षेप गर्ने धम्की दिँदै इरानी शासकहरूलाई प्रदर्शनकारीहरूविरुद्ध बल प्रयोग नगर्न चेतावनी दिँदै आएका छन् ।
हिजो ट्रम्पले इरानले स्वतन्त्रता खोजिरहेको र अमेरिका मद्दत गर्न तयार रहेको बताएका थिए । इजरायलले भने तत्काल इरानमा आक्रमण गर्ने सङ्केत गरेको छैन ।
आर्थिक सङ्कट र मूल्यवृद्धिको विरोधमा भइरहेको आन्दोलन हिंसात्मक बन्दा कम्तीमा १ सय १६ जनाको ज्यान गएको मानवअधिकारकर्मीहरूलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ ।
गएको डिसेम्बर २८ देखि शुरू भएको प्रदर्शनमा २ हजार ५ सय जनाभन्दा धेरै मानिस पक्राउ परेका छन् । अस्तिदेखि इन्टरनेट र टेलिफोन सेवासमेत बन्द भएका छन् ।
पछिल्ला तीन दिनमा सुरक्षा बलद्वारा सयौं मानिस मारिएका वा घाइते भएका विवरण आए पनि प्रदर्शनकारीहरूले सरकारी दमनको अवज्ञा गरेका खबरमा उल्लेख छ ।


प्रतिक्रिया