इरान प्रदर्शन : सडकहरू युद्धमैदानजस्तै बन्दै

इरान प्रदर्शन : सडकहरू युद्धमैदानजस्तै बन्दै

प्रदर्शनकारीहरू मारिएपछि अमेरिकाद्वारा इरानमाथि आक्रमण गर्ने चेतावनी, यस्तै इरानले आफ्नो देशमा आक्रमण गरेमा अमेरिका र इजरायलमा समेत प्रत्याक्रमण गर्ने चेतावनी



काठमाडौं । इरानमा दुई हप्ताभन्दा धेरै समयदेखि चलिरहेको सरकारविरोधी आन्दोलनका कारण जनजीवन कष्टकर बनेको छ । सरकारको तीव्र दमनका बीच हजारौँ मानिसहरू सडकमा निस्किएका छन् ।

अमेरिकामा रहेको ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सीले आन्दोलन शुरू भएयता ४ सय ९५ जना प्रदर्शनकारी र ४८ जना सुरक्षाकर्मी मारिएको पुष्टि गरेको जनाएको छ । १० हजार ६ सय जनाभन्दा धेरै पक्राउ परेका छन् ।

इरानमा इन्टरनेट र फोनसेवा बन्द छ । सेनाले प्रदर्शनकारीलाई ताकेर सीधै गोली हान्दा सडक युद्धमैदानजस्तै बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । शव ट्रकमा राखेर अन्यत्र लैजाने गरेका कारण ज्यान गुमाउनेको सङ्ख्या यकिन गर्न मुश्किल परेको छ ।

इरानमा ज्यान गुमाउनेको सङ्ख्या बढेसँगै युरोपसहित विश्वका धेरै देशमा इरानी नागरिकको पक्षमा प्रदर्शन भएको बीबीसीले जनाएको छ । महँगीविरुद्ध शुरू भएको प्रदर्शनमा अहिले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईको शासन अन्त्य हुनुपर्ने मुख्य माग छ ।

इरानका महान्यायाधिवक्ताले विरोध गर्ने जोसुकैलाई ईश्वरको शत्रु मानिने बताएका छन् । इरानमा यो अपराधका लागि मृत्युदण्डको व्यवस्था छ । यस्तै सर्वोच्च नेता खामेनेईले प्रदर्शनकारीहरूलाई ट्रम्पलाई खुशी पार्न चाहने जमातको संज्ञा दिएका छन् ।

प्रदर्शनकारीहरू मारिएका घटनालाई लिएर अमेरिकाले इरानमाथि आक्रमण गर्ने चेतावनी दिएको छ । यस्तै इरानले पनि आफ्नो देशमा आक्रमण गरेमा अमेरिकासँगै उसको साझेदार इजरायलमा समेत प्रत्याक्रमण गर्ने चेतावनी दिएको छ ।

आन्दोलनकारीहरूले पूर्वयुवराज रेजा पहलवीलाई नेतृत्व लिन आग्रह गरिरहेका छन् । उनी इरानका अन्तिम शाह मोहम्मद रेजा पहलवीका जेठा छोरा हुन् ।

सन् १९७९ मा इरानमा भएको आन्दोलनमा सेनाले दमन गर्न अस्वीकार गरेपछि शाही सत्ता समाप्त भएको थियो । त्यसपछि शाही परिवार भागेर इजिप्ट हुँदै अमेरिका गएको हो ।

पछिल्ला वर्षहरूमा पहवलीले इरानमा संवैधानिक राजतन्त्र पुनर्स्थापना गर्न सकिने बताउँदै आएका छन् । उनले वंश विरासतमा नभएर निर्वाचित राजाको अवधारणा अघि सारेका छन् ।

गएको वर्ष जुनमा इरान र इजरायलबीच भएको १२ दिने युद्धमा उनले इजरायलको पक्षधरता लिएका थिए । अहिले इजरायलले उनको पक्षधरता लिइरहेको छ ।