हप्तामा १० घण्टाभन्दा धेरै भिडियो गेम खेल्दा युवाहरूको आहार र निद्रालाई हानि : अध्ययन

हप्तामा १० घण्टाभन्दा धेरै भिडियो गेम खेल्दा युवाहरूको आहार र निद्रालाई हानि : अध्ययन



काठमाडौं । हप्तामा १० घण्टाभन्दा धेरै भिडियो गेम खेल्दा युवाहरूको आहार, निद्रा र शरीरको तौलमा उल्लेखनीय असर पर्न सक्ने एउटा नयाँ अध्ययनले देखाएको छ ।

अस्ट्रेलियाको कर्टिन विश्वविद्यालयको नेतृत्वमा भएको अनुसन्धानले देशभरका ५ वटा विश्वविद्यालयका औसत उमेर २० वर्षका ३ सय १७ जना विद्यार्थीमा सर्वेक्षण गरेको थियो । उनीहरूलाई हप्तामा ५ घण्टासम्म, ५ देखि १० घण्टासम्म र १० घण्टाभन्दा धेरै भिडियो गेम खेल्ने विद्यार्थीहरूका रूपमा ३ वटा समूहमा बाँडिएको थियो ।

हप्तामा ५ घण्टासम्म र १० घण्टासम्म भिडियो गेम खेल्ने विद्यार्थीहरूको समान स्वास्थ्य परिणाम देखिए पनि १० घण्टाभन्दा धेरै भिडियो गेम खेल्नेहरूमा आहार, निद्रा र तौललगायतमा नकारात्मक असर परेको पत्ता लागेको अनुसन्धानकर्ताहरूलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

कर्टिन स्कूल अफ पपुलेशन हेल्थका प्रोफेसर मारियो सिएर्भोले अनुसन्धानमा अत्यधिक गेमिङ आफैँमा प्रमुख समस्या भएको देखिने बताए ।

हप्तामा १० घण्टाभन्दा धेरै भिडियो गेम खेल्ने विद्यार्थीहरूको आहारको गुणस्तर कमजोर र मोटोपनको दर उच्च रहेको पनि अध्ययनले देखाएको छ । औसत बडी मास इन्डेक्स कम र मध्यम गेम खेल्नेहरूको २२ दशमलव २ र २२ दशमलव ८ को तुलनामा धेरै गेम खेल्नेहरूको २६ दशमल ३ रहेको छ ।

अध्ययनले स्वस्थ दिनचर्या अपनाउन सुझाव दिँदै राति अबेरसम्म भिडियो गेम नखेल्न र स्वस्थ खानेकुरा खाएर स्वास्थ्य जोखिमहरू कम गर्न सुझाएको छ ।