गाजा शान्ति प्रक्रिया : ट्रम्पले गरेका नियुक्तिप्रति इजरायल र प्यालेस्टिनीद्वारा आलोचना

गाजा शान्ति प्रक्रिया : ट्रम्पले गरेका नियुक्तिप्रति इजरायल र प्यालेस्टिनीद्वारा आलोचना



काठमाडौं । गाजामा शान्ति प्रक्रियाका लागि ट्रम्प प्रशासनले समितिहरू घोषणा गर्न थालेकोप्रति इजरायल र प्यालेस्टिनी दुवैले यसको आलोचना गरेका छन् ।

प्यालेस्टिनी नेता मुस्तफा बर्घाैतीले ट्रम्प प्रशासनले घोषणा गरेका समितिहरू केही अन्तर्राष्ट्रिय सदस्यहरूसहितको अमेरिकी बोर्ड जस्तो देखिने टिप्पणी गर्नुभएको बीबीसीले जनाएको छ । यस्तै इजरायलले यीमध्ये एक समिति, गाजा कार्यकारी बोर्डमा नियुक्तिको बारेमा परामर्श नगरिएकोमा आफू दुःखी भएको बताएको खबरमा उल्लेख छ ।

यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा शान्ति प्रक्रियामा अमेरिकी राष्ट्रपति ट्रम्पको प्यानलमा नियुक्तिहरूको बारेमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक आयोजना गर्दै छन् ।

ट्रम्प प्रशासनको नयाँ शान्ति बोर्डमा नियुक्त हुनेहरूमा ट्रम्पका ज्वाइँ जारेड कुशनर, ट्रम्पका दूत स्टिभ विटकफ, अमेरिकी विदेशमन्त्री मार्को रुबियो र बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयर समावेश छन् ।

ट्रम्पले अध्यक्षका रूपमा काम गर्ने बोर्ड इजरायल र हमासबीचको युद्ध अन्त्य गर्ने उनको २०–बुँदे योजनाको एक हिस्सा हो । यसले गाजाको सञ्चालनको अस्थायी रूपमा निरीक्षण गर्ने र यसको पुनर्निर्माण व्यवस्थापन गर्ने अपेक्षा छ ।