ट्रम्पको ग्रिनल्यान्ड मोहले निम्त्यायो कूटनीति संकट

ट्रम्पको ग्रिनल्यान्ड मोहले निम्त्यायो कूटनीति संकट



वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ग्रिनल्याण्ड मोह हालैका हप्ताहरूमा गम्भीर कूटनीतिक संकटमा परिणत भएको छ । आफ्नो पहिलो कार्यकालमै ट्रम्पले अनौठो तरिकाले ग्रिनल्यान्ड कब्जा गर्ने बताएका थिए । त्यतिबेला धेरैले गम्भीरतापूर्वक नलिएको यो कुरा अब अमेरिका र युरोपबिच दशकौँयताकै सबैभन्दा ठुलो तनावको कारण बनेको छ ।

जनवरी ४ मा फ्लोरिडाको पाम बीचमा लामो बिदा बिताएर फर्किँदै गर्दा पत्रकारले ग्रिनल्याण्डबारे प्रश्न गर्दा ट्रम्प स्वयं केही अचम्मित देखिएका थिए । उनले ‘ग्रिनल्याण्डको कुरा दुई महिनापछि गरौँला’ भनेका थिए । तर त्यसको केही हप्तामै ग्रिनल्याण्ड अन्तर्राष्ट्रिय राजनीतिमा मुख्य विषय बनेको छ, र त्यसको केन्द्रमा ट्रम्प स्वयं छन् ।

यस वर्षको सुरुदेखि ट्रम्पले ग्रिनल्याण्डलाई अमेरिकी नियन्त्रणमा ल्याउने प्रयास तीव्र पारेका छन्। यसले युरोपेली साझेदारहरूलाई गहिरो रूपमा चिन्तित बनाएको छ भने ह्वाइट हाउसका अधिकारीहरू सम्भावित रणनीतिबारे आन्तरिक रूपमा विभाजित देखिन्छन् । अधिकांश सल्लाहकारहरू ग्रिनल्याण्ड राष्ट्रिय सुरक्षाका दृष्टिले महत्वपूर्ण मान्छन् । तर त्यसलाई कसरी हासिल गर्ने भन्नेमा एकमत छैनन् ।

केही सल्लाहकारहरू ग्रिनल्याण्डलाई अमेरिकी राज्य बनाउने पक्षमा छैनन् । बरु यस क्षेत्रमा र बलियो साझेदारी वा सह–नियन्त्रण सम्भव हुने उनीहरू बताउँछन् । सैन्य बल प्रयोगको सम्भावनाप्रति धेरै अधिकारीहरू सतर्क छन् । उनीहरू ट्यारिफको धम्की प्रयोग गरेर डेनमार्क र युरोपेली मुलुकहरूसँग सम्झौता निकाल्ने डिल रणनीतिमा विश्वास गर्छन् ।

राष्ट्रपतिले जुनसुकै योजना रोजे पनि प्रशासन त्यसलाई कार्यान्वयन गर्न तयार रहेको ह्वाइट हाउसकी प्रवक्ता एना केलीले बताएकी छिन् । उनका अनुसार ट्रम्प यथास्थितिलाई जोगाउन नभएर रणनीतिक हितका लागि निर्णायक कदम चाल्न निर्वाचित भएका हुन् ।

यसबीच, युरोपेली नेताहरू अझै पनि सम्झौताबाट समाधान सम्भव हुने आशामा छन् । नाटो महासचिव मार्क रुट्टेले सन् १९५१ को अमेरिका–डेनमार्क–ग्रिनल्याण्ड सम्झौतामाथि पुनः वार्ताको सम्भावना उठाइरहेका छन् । तर ज सरी पनि ग्रिनल्यान्ड हत्याउने ट्रम्पको अडान र यूरोपेली देशमाथिको ट्यारिफ प्रहारले संकट थप गहिरिने संकेत देखिएको छ ।