काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या गर्ने व्यक्तिलाई अदालतले आजीवन कारावासको सजाय सुनाएको छ । सन् २०२२ मा नारा शहरमा एक र्यालीमा पूर्वप्रधानमन्त्री गोली हानी हत्या गरेको साढे ३ वर्षपछि नारा शहरको अदालतले ४५ वर्षीय तेत्सुया यामागामीलाई सजाय सुनाएको समाचार संस्था एएफपीले जनाएको छ ।
यामागामीले २०२२ को जुलाईमा चुनावी अभियानका क्रममा भाषण दिइरहेका जापानका सबैभन्दा लामो समय सेवा गरेका प्रधानमन्त्री आबेमाथि गोली प्रहार गरेका थिए ।
अक्टोबरमा मुद्दा शुरू हुँदा उनले हत्या गरेको स्वीकार गरेका थिए, यद्यपि केही आरोपमा उनले असहमति जनाएका थिए । जापानी कानूनी व्यवस्थाअनुसार अपराध स्वीकार गरे पनि मुद्दा पूरै सुनुवाइ हुन्छ ।
जापानमा आजीवन कारावासमा प्यारोलको कानूनी सम्भावना भए पनि व्यवहारमा धेरै कैदीले जेलमै जीवन बिताउने विज्ञहरूको भनाइ छ ।
अदालतबाहिर उपस्थित मानिसहरूले यस घटनाले जापानी समाजमा पारेको गहिरो प्रभावबारे प्रतिक्रिया जनाएका थिए । केहीले पीडितप्रति सहानुभूति व्यक्त गरे भने केहीले यामागामीको जीवन पृष्ठभूमिलाई समेत विचार गर्नुपर्ने माग राखेका थिए ।
युनिफिकेशन चर्चप्रति उनकी आमाको समर्पणले परिवारलाई टाट पल्टायो र पूर्वप्रधानमन्त्रीको विवादास्पद चर्चसँगको सम्बन्ध थाहा पाएपछि यामागामीले आबेप्रति द्वेष व्यक्त गरेका खबरमा उल्लेख छ ।
कडा बन्दुक नियन्त्रणका लागि परिचित जापानमा यो घटनालाई गम्भीर चेतावनीका रूपमा लिइएको छ । बन्दुक हिंसा अत्यन्त दुर्लभ भएकाले घटनास्थलमा सुरक्षाकर्मीहरूले शुरूमा गोली चलेको बुझ्न नसकेको र उद्धारमा ढिलाइ भएको प्रहरी प्रतिवेदनले जनाएको छ ।


प्रतिक्रिया