जापानले विश्वको सबैभन्दा ठूलो आणविक प्लान्ट पुनः शुरू गर्‍याे

जापानले विश्वको सबैभन्दा ठूलो आणविक प्लान्ट पुनः शुरू गर्‍याे



काठमाडौं । जापानले विश्वको सबैभन्दा ठूलो आणविक प्लान्ट पुनः शुरू गरेको छ । सन् २०११ को शक्तिशाली भूकम्पका कारण फुकुशिमा पावर प्लान्टका सबै आणविक रिएक्टरहरू बन्द गर्न बाध्य भएको झन्डै १५ वर्षपछि जापानले आणविक प्लान्टमा रहेको रिएक्टर पुनः शुरू गरेको बीबीसीले जनाएको छ ।

टोकियोको उत्तर–पश्चिममा रहेको काशीवाजाकी–कारीवा प्लान्टमा रहेको रिएक्टर नम्बर ६ आज पुनः सुरु भएको हो । अर्को महिनादेखि यो व्यावसायिक रूपमा सञ्चालन शुरू हुन सक्ने अधिकारीहरूले बताएका छन् ।

यो जापानको आणविक ऊर्जा पुनः शुरू गर्ने पछिल्लो चरण हो जसका लागि अझै धेरै समय लाग्न सक्छ । सातौँ रिएक्टर सन् २०३० सम्म फेरि सञ्चालनमा आउने अपेक्षा नरहेको र बाँकी पाँच वटा बन्द हुन सक्ने खबरमा उल्लेख छ ।

सन् २०११ भन्दाअघि जापानको बिजुलीको झन्डै ३० प्रतिशत हिस्सा आणविक ऊर्जाले ओगटेको थियो र सन् २०३० सम्ममा यसलाई ५० प्रतिशत पुर्‍याउने योजना छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले सन् २०५० सम्ममा विश्वको आणविक ऊर्जा क्षमता दोब्बरभन्दा बढी हुन सक्ने अनुमान गरेको छ ।

जापानकी प्रधानमन्त्री साने ताकाचीले देशको ऊर्जा आत्मनिर्भरताका लागि आणविक ऊर्जाको महत्त्वलाई जोड दिनुभएको छ । विशेषगरि डाटा सेन्टर र सेमिकन्डक्टर अर्धचालक उत्पादनका कारण ऊर्जाको माग बढ्ने अपेक्षा छ ।

जापानले आफ्नो आणविक ऊर्जा महत्त्वाकाङ्क्षालाई पुनर्जीवित गर्ने प्रयास गर्दा रिएक्टरहरू सञ्चालन गर्ने लागत बढेको छ । आंशिक रूपमा नयाँ सुरक्षा जाँचहरूका कारणले गर्दा प्लान्टहरू पुनः शुरू गर्न प्रयास गरिरहेका कम्पनीहरूबाट ठूलो लगानी आवश्यक पर्ने खबरमा उल्लेख छ ।