बङ्गलादेशमा फेरि हिन्दु युवकको निर्मम हत्या

बङ्गलादेशमा फेरि हिन्दु युवकको निर्मम हत्या



ढाका । बङ्गलादेशमा एक हिन्दु युवकलाई पेट्रोल खन्याएर जिउँदै जलाइएको घटनाले फेरि एकपटक अल्पसंख्यक समुदायको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ । नरसिंहदी क्षेत्रमा ग्यारेजमा सुतिरहेका युवककाे आगाे लगाएर हत्या गरेको हो । मृत्यु हुने चञ्चल चन्द्र भौमिकका रहेकाे बताइएकाे छ ।

वरिष्ठ पत्रकार सलाहउद्दीन शोएब चौधरीका अनुसार यो घटना शुक्रबार राति भएको हो । चञ्चल कोमिला जिल्लाको लक्ष्मीपुर गाउँका बासिन्दा थिए । पिताको मृत्यु भएपछि घरको जिम्मेवारी उनकै काँधमा थियो ।

उनकी आमा बिरामी र एक भाइ दिव्याङ्ग रहेको बताइएको छ । चञ्चल पछिल्लो ६ वर्षदेखि नरसिंहदीमा रुबल मियाँको ग्यारेजमा काम गर्दै आएका थिए ।

स्थानीय स्रोतका अनुसार काम सकेर ग्यारेजमै सुतेका चञ्चलमाथि अज्ञात व्यक्तिले पेट्रोल खन्याएर आगो लगाएका थिए । नजिकैको सीसीटीभी फुटेजमा आगो लगाएपछि पनि आरोपी केही समय त्यहीँ उभिएको देखिएको छ । परिवारले यो घटनालाई हत्या भएको आरोप लगाएको छ भने स्थानीयले धार्मिक कारण हुनसक्ने आशङ्का व्यक्त गरेका छन् ।

यस घटनापछि बङ्गलादेशका हिन्दु समुदायमा भय र असुरक्षाको वातावरण फैलिएको छ । हिन्दु सङ्गठनहरूले घटनाको कडा निन्दा गर्दै दोषीलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।