निकोलस, हर्क, महेशसहित पाँच उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण

निकोलस, हर्क, महेशसहित पाँच उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण



काठमाडौं । निर्वाचन आयोगले पाँच जना उम्मेदवारलाई आचारसंहिता उल्लङ्घन गरेको भन्दै सातवटा स्पष्टीकरण सोधेको छ । सो स्पष्टीकरणमा विभिन्न उम्मेदवारहरूले आचारसंहिता उल्लङ्घन गरेका उल्लेख छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र साहले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमा ‘हत्यारा’ टिप्पणी गरेका कारण स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । सोही पार्टीका अर्का उम्मेदवार निकोलस भुसालले जेनजी आन्दोलनको आइकोनिक जुत्ता चुनाव चिन्हका रूपमा प्रचार गरेको विषयमा पनि आयोगले स्पष्टीकरण माग गरेको छ ।

त्यस्तै, श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङले प्रचारमा बालबालिका प्रयोग गरी उनीहरूलाई टिसर्ट लगाउन लगाएको विषयमा आयोगले उहाँलाई स्पष्टीकरण माग गरेको छ । त्यस्तै, उम्मेदवार जानुका पाठकले अन्य उम्मेदवारमाथि ‘हत्यारा’, ‘बलात्कारी’ जस्ता घृणाजनक शब्दहरू प्रयोग गरेको आरोपमा आयोगले स्पष्टीकरण माग गरेको सहायक प्रवक्ता सीता पुनले बताए ।

सोहीअनुसार नेकपा (एमाले) का उम्मेदवार महेश बस्नेतले बालेनलाई ‘छाउरा’ भनेर अपमानजनक अभिव्यक्ति प्रयोग गरेको विषयमा पनि आयोगले स्पष्टीकरण सोध्ने ज नाएको छ । त्यसैगरी, स्वास्थ्य स्वयंसेवक संघले अनुमति नलिई आचारसंहिता लागू भएपछि अधिवेशन गरेको विषयमा पनि छानबिन भइरहेको आयोगले जनाएको छ ।

अर्को विषयमा एक शिक्षक सरुवाको विषय समेत सम्बन्धित महाशाखामा थप बुझ्ने प्रक्रिया जारी रहेको आयोगले जनाएको छ । निर्वाचन आयोगले ती सबै विषयमा आवश्यक कारबाहीका लागि थप अनुसन्धान गर्ने जनाएको छ ।