घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानव अधिकार आयोगकाे निर्देशन

घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानव अधिकार आयोगकाे निर्देशन



काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले घृणाजन्य अभिव्यक्ति बन्द गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ । शान्ति सुरक्षा थप मजबुत बनाउन पनि आयोगले सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा घृणाजन्य अभिव्यक्ति बढेको आयोगले जनाएको छ । “घृणाजन्य अभिव्यक्तिले अराजकतालाई प्रश्रय दिने र निर्वाचनको समयमा शान्ति सुरक्षामा समेत असर पर्ने देखिन्छ,” आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आयोगका अनुसार, विगत केही दिनयता विभिन्न राजनीतिक दलका जिम्मेवार व्यक्तिहरूबाट एकार्काप्रति आक्षेप लगाउने, घृणाजन्य अभिव्यक्ति र अमर्यादित आरोप–प्रत्यारोप गरिएको छ ।

“नेपालको संविधान र मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानुनहरूले अभिव्यक्ति तथा विचारको स्वतन्त्रताको प्रत्याभूति गरेको भए तापनि अरूको मर्यादामा चोट पुग्ने र शान्ति सुरक्षामा आँच पुग्न सक्ने विषयलाई विशुद्ध विचार र अभिव्यक्ति स्वतन्त्रताको मात्र विषय मान्न सकिँदैन,” आयोगले भनेको छ ।

कसैले पनि संविधान, कानुन र मानव अधिकारका अन्तर्राष्ट्रिय मूल्य–मान्यताविपरीत घृणाजन्य अभिव्यक्ति नदिन, सामाजिक सञ्जालको प्रयोग गर्दा शिष्ट एवम् मर्यादित हुन आयोगले आग्रह गरेको छ ।

“घृणायुक्त अभिव्यक्तिको प्रचारप्रसार नगर्न र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आयोग राजनीतिक दलका नेता, उमेदवार एवम् सर्वसाधारणलाई आग्रह गर्दछ,” विज्ञप्तिमा उल्लेख छ, “यस्ता अभिव्यक्तिले समाजमा घृणा फैलाउनुका साथै शान्ति सुरक्षामा समेत चुनौती सिर्जना गर्छ ।”