काठमाडौं । भारतको पश्चिम बङ्गाल राज्यमा निपाह भाइरसको प्रकोप देखिएसँगै एशियाली विमानस्थलहरूमा जाँच यात्रुहरूको जाँच शुरू भएको छ ।
थाइल्यान्डले पश्चिम बङ्गालबाट उडान भर्ने तीन वटा विमानस्थलमा यात्रुहरूको स्क्रीनिङ्ग शुरू गरेको बीबीसीले जनाएको छ । यस्तै नेपालले पनि काठमाण्डौको त्रिभुवन विमानस्थल र भारतसँगको अन्य भूमि सीमा विन्दुहरूमा यात्रुहरूको स्क्रीनिङ्ग शुरू गरेको छ ।
यस महिनाको शुरूमा पश्चिम बङ्गालमा पाँच जना स्वास्थ्यकर्मी भाइरसबाट सङ्क्रमित भएका थिए जसमध्ये एक जनाको अवस्था गम्भीर छ । उनीहरूसँग सम्पर्कमा रहेका एक सय जनाभन्दा धेरैलाई क्वारेण्टीनमा राखिएको छ ।
निपाह घातक जुनोटिक भाइरस हो जसको मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म हुन सक्छ । यो मुख्यतः ‘फ्रुट ब्याट’ (फलफूल खाने चमेरो) बाट मानिसमा सर्छ । यो भाइरसको ङ्क्रमण भएमा शुरूमा ज्वरो, टाउको दुख्ने, खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या हुन्छ । पछि मस्तिष्क सुन्निने समस्याले ज्यान जान सक्छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले निपाहलाई कोभिड–१९ र जिका जस्ता रोगजनकहरूसँगै आफ्नो शीर्ष १० प्राथमिकता रोगहरूमा समावेश गरेको छ । निपाहले महामारी निम्त्याउन सक्ने डब्ल्यूएचओको चेतावनी छ ।


प्रतिक्रिया