तत्काल परमाणु सम्झौता गर्न इरानलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

तत्काल परमाणु सम्झौता गर्न इरानलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आफ्नो परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न कडा चेतावनी दिएका छन् । खाडी क्षेत्रमा अमेरिकी सैन्य शक्ति तीव्र रूपमा बढाइँदै गएको सन्दर्भमा उनले समय सकिँदै गएको भन्दै इरानलाई वार्ताको टेबलमा आउन आग्रह गरेको बीबीसीले जनाएको छ ।

ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा विशाल अमेरिकी सैन्य शक्ति उत्साह र निश्चित उद्देश्यसहित अघि बढिरहेको दाबी गरेका छन् । ट्रम्पले यो नौ सैनिक समूह भेनेजुएलामा पठाइएको सैन्य शक्तिभन्दा पनि ठूलो रहेको चेतावनी दिएका छन् ।

इरानका विदेशमन्त्री अब्बास अराघ्चीले इरानको सशस्त्र बल अमेरिकी जवाफका लागि तयार रहेको भन्दै स्थल वा समुद्रबाट हुने कुनै पनि आक्रमणको “तत्काल र शक्तिशाली जवाफ” दिन तयार रहेको चेतावनी दिएका छन् । इरानले आफ्नो परमाणु कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण रहेको दोहोर्रयाउँदै आएको छ र परमाणु हतियार बनाउने अमेरिकी आरोप अस्वीकार गर्दै आएको छ ।

हालै अमेरिकी सेनाले जोर्डन, कतार, बहराइन र हिन्द महासागर क्षेत्रमा लडाकु विमान, ड्रोन, जासुसी विमान, इन्धन भर्ने जहाज र युद्धपोतहरू तैनाथ गरेको छ । जोर्डनको मुवाफाक सल्ती एयर बेसमा मात्रै कम्तीमा १५ लडाकु विमान पुगेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

यसैबीच, इरानले पनि आफ्नो तट नजिकै आईआरआईएस ड्रोन क्यारियर जहाज तैनाथ गरेको उपग्रह तस्बिरहरू सार्वजनिक भएका छन् । सन् २०१५ को परमाणु सम्झौता अनुसार इरानलाई युरेनियम ३ दशमलव ६७ प्रतिशतभन्दा बढी बनाउन प्रतिबन्ध भएपनि ट्रम्पले सन् २०१८ मा सम्झौताबाट अमेरिका बाहिरिएपछि इरानले ती प्रतिबन्धहरू उल्लङ्घन गर्दै आएको छ ।