काठमाडौं । अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।
मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।
जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताएका छन् ।
यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।
साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।
साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।


प्रतिक्रिया