काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरी गम्भीर प्रकृतिका आरोप लगाउने क्रम योजनाबद्ध रूपमा अघि बढाइएको दाबी गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा परिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै उनले हाल सार्वजनिक रूपमा देखिएका गतिविधि र अभिव्यक्तिहरूले राजनीतिक नेतृत्वमाथि व्यक्ति हत्यासम्मको आरोप थोपर्ने वातावरण सिर्जना गर्न खोजिएको बताए ।
उनका अनुसार भदौ २३ गते भएको जेन जेड आन्दोलनका क्रममा २३ जनाको ज्यान गएको थियो । उक्त घटनापछि तत्कालीन प्रधानमन्त्रीका रूपमा अध्यक्ष ओलीले मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने तथा उनीहरूलाई शहीद घोषणा गर्ने निर्णय गरेको उनले उल्लेख गरे ।
बस्नेतले भदौ २४ गते संविधानिक व्यवस्था र सुरक्षा संयन्त्रलाई कमजोर पार्दै देशलाई अस्थिरतामा धकेल्ने प्रयास भएको आरोप लगाए। सोही सन्दर्भमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग जोडेर देशभरका विभिन्न कारागारबाट झण्डै १४ हजार कैदी फरार भएको टिप्पणी गरे ।
उनको भनाइमा फरारमध्ये दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जनाले आफ्नै आमा र श्रीमतीको हत्या गरेको घटना सार्वजनिक भएको छ। यस्ता घटनाको नैतिक तथा राजनीतिक जिम्मेवारी सम्बन्धित नेतृत्वले लिनुपर्ने उनको जिकिर थियो ।
त्यसैगरी आन्दोलनका नाममा भएका आगजनी, लुटपाट र सार्वजनिक तथा निजी सम्पत्तिमा पुगेको क्षतिका लागि रवि लामिछानेसँगै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह पनि उत्तरदायी हुनुपर्ने बस्नेतको दाबी छ । उनले देशभर भएको तोडफोड र ध्वंसको सम्पूर्ण विवरण संकलन गरी हिसाबकिताब गरिने चेतावनीसमेत दिए ।


प्रतिक्रिया