रुसी ड्रोन आक्रमणमा १५ खानी मजदुरको मृत्यु

रुसी ड्रोन आक्रमणमा १५ खानी मजदुरको मृत्यु



कीएभ । रुसले पूर्वी युक्रेनमा गरेको ड्रोन आक्रमणमा परी कम्तीमा १५ जना खानी मजदुरको ज्यान गएको छ । युक्रेनको सबैभन्दा ठुलो निजी ऊर्जा कम्पनी डीटीईके र आपतकालीन सेवाका अनुसार आइतबार ड्निप्रोपेट्रोभ्स्क क्षेत्रमा काम सकेर फर्किएका मजदुर चढेको बसलाई लक्षित गरी सो हमला भएको हो ।

यस आक्रमणमा अन्य सात जना घाइते भएका छन् । सुरुमा मृतकको सङ्ख्यामा केही अन्योल देखिए पनि सरकारी निकायले १५ जनाकै मृत्यु भएको पुष्टि गरेका छन् । आइतबारै भएका अन्य फरक-फरक आक्रमणमा थप दुई जनाको मृत्यु भएको छ भने दर्जनौँ मानिस घाइते भएका छन् ।

अस्पताल र सर्वसाधारण निशानामा रुसी फौजले झापोरिझियास्थित एक प्रसूति अस्पताललाई समेत निशाना बनाएको छ । प्रसूति अस्पताल नम्बर ३ मा भएको उक्त ड्रोन हमलामा ६ जना घाइते भएका छन् ।

घाइते हुनेमा बच्चा जन्माइरहेका दुई सुत्केरी महिला समेत छन् । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा अस्पतालका झ्यालका सिसा फुटेका, कोठाहरूमा भग्नावशेष थुप्रिएको र अग्नीनियन्त्रकहरूले बिरामीलाई उद्धार गरिरहेको दृश्य देखिन्छ ।

युक्रेनी विदेशमन्त्री एन्ड्री सिबिहाले यस घटनालाई पुटिनले ‘शान्ति प्रयासविपरीत सर्वसाधारणविरुद्ध युद्ध गरिरहेको’ प्रमाणका रूपमा टिप्पणी गरेका छन् । यस्तै, ड्निप्रो सहरमा भएको अर्को ड्रोन आक्रमणमा एक पुरुष र एक महिलाको मृत्यु भएको छ भने खर्सोन र खार्किभ क्षेत्रमा पनि गोलाबारीका कारण सर्वसाधारण घाइते भएका छन् ।

ऊर्जा सङ्कट र कूटनीतिक प्रयास रुसले जनवरीदेखि युक्रेनको विद्युतीय ग्रिडलाई लक्षित गरी लगातार आक्रमण गरिरहेको छ। माइनस २० डिग्री सेल्सियससम्मको अत्यधिक चिसोका बिच लाखौँ मानिस ताप र बिजुलीविहीन बनेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिन चिसोको समयमा आक्रमण रोक्न सहमत भएको दाबी गरे पनि क्रेमलिनले उक्त युद्धविरामको अवधि आइतबारै समाप्त भएको जनाएको छ ।

यसैबीच, युक्रेनले रुसले ड्रोन आक्रमणका लागि प्रयोग गरिरहेको स्टारलिंक भू-उपग्रह प्रणाली रोक्न इलन मस्कको स्पेस-एक्स कम्पनीसँग सहकार्य गरिरहेको बताएको छ ।