टोकियो । जापानले गहिरो समुद्री परीक्षण मिसनका क्रममा समुद्रको करिब छ हजार मिटर गहिराइबाट दुर्लभ पृथ्वी तत्व भएको खनिजयुक्त जमेको पदार्थ सफलतापूर्वक पुनः प्राप्त गरेको जनाएको छ ।
सोमबार सरकारद्वारा सार्वजनिक गरिएको यो जानकारी बहुमूल्य खनिज आपूर्तिका लागि चीनमाथिको निर्भरता घटाउने जापानको दीर्घकालीन रणनीतिसँग जोडिएको छ । सरकारी भनाइ अनुसार यति ठुलो गहिराइमा पुगेर गहिरो समुद्री खनिजयुक्त जमेको पदार्थबाट दुर्लभ पृथ्वी तत्व निकाल्ने यो विश्वकै पहिलो प्रयास हो ।
यस सफल परीक्षणलाई जापानले प्राविधिक र रणनीतिक दुवै दृष्टिले महत्त्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरेको छ । सरकारी प्रवक्ता केई सातोले नमूनामा कति मात्रामा दुर्लभ पृथ्वी तत्व समावेश छन् भन्ने विषयमा विस्तृत विश्लेषण गरिने जानकारी दिनुभयो । उहाँका अनुसार यो उपलब्धि आर्थिक सुरक्षाका साथै समग्र समुद्री विकासको दृष्टिकोणबाट पनि अर्थपूर्ण रहेको छ ।
गत महिना ‘चिक्यु’ नामक गहिरो समुद्री वैज्ञानिक ड्रिलिङ डुङ्गाले प्रशान्त महासागरको दुर्गम टापु मिनामी तोरिशिमातर्फ यात्रा गरी नमूना सङ्कलन गरेको थियो । उक्त क्षेत्र वरपरको समुद्री सतहमा बहुमूल्य खनिजको उल्लेखनीय भण्डार रहेको विश्वास गरिएको छ । यो खोज यस्तो समयमा सार्वजनिक भएको छ, जतिबेला दुर्लभ पृथ्वी तत्वको विश्वकै सबैभन्दा ठुलो आपूर्तिकर्ता चीनले जापानमाथि विभिन्न माध्यमबाट दबाब बढाइ रहेको छ ।
नोभेम्बरमा प्रधानमन्त्री साने ताकाइचीले ताइवान सम्बन्धी क्षेत्रीय सुरक्षा अवस्थाबारे धारणा व्यक्त गरेपछि टोकियो र बेइजिङबिचको सम्बन्ध संवेदनशील बन्दै गएको थियो । यसै सन्दर्भमा बेइजिङले सम्भावित सैन्य प्रयोग हुन सक्ने ‘दोहोरो प्रयोग’ वस्तुको निर्यात जापानतर्फ रोकिसकेको छ । ती वस्तु मध्ये केही दुर्लभ पृथ्वी तत्व समूहमा पर्ने भएकाले जापानमा आपूर्ति अवरुद्ध हुन सक्ने चिन्ता बढेको छ ।
दुर्लभ पृथ्वी तत्व भन्नाले पृथ्वीको माथिल्लो तहबाट निकाल्न कठिन १७ प्रकारका धातुलाई जनाउँछ । यी तत्व विद्युतीय सवारी साधन, हार्ड ड्राइभ, विन्ड टर्बाइनदेखि मिसाइल प्रणालीसम्म अत्यावश्यक रूपमा प्रयोग गरिन्छ । जापानको विशेष आर्थिक जलक्षेत्रभित्र पर्ने मिनामी तोरिशिमाको वरपरको क्षेत्रमा एक करोड ६० लाख टनभन्दा बढी दुर्लभ माटो रहेको अनुमान गरिएको छ । जापानी व्यावसायिक दैनिक निक्केईका अनुसार यो विश्वकै तेस्रो ठुलो दुर्लभ पृथ्वी भण्डार हो ।
निक्केईका अनुसार ती भण्डारमा करिब ७३० वर्षसम्म पुग्ने डिस्प्रोसियम रहेको अनुमान छ, जुन मोबाइल फोन र विद्युतीय कारमा प्रयोग हुने उच्च-शक्ति चुम्बकमा आवश्यक पर्छ । त्यसै गरी, लेजर प्रविधिमा प्रयोग हुने यट्रियम पनि करिब ७८० वर्षसम्म पुग्ने मात्रामा रहेको बताइएको छ । गहिरो समुद्री उत्खननप्रति भने वातावरणीय समूहले चिन्ता व्यक्त गर्दै आएका छन् । उनीहरूका अनुसार यस्तो गतिविधिले समुद्री इकोसिस्टममा गम्भीर असर पार्न सक्छ र समुद्री सतहको सन्तुलन बिगार्न सक्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय जलक्षेत्रमा गहिरो समुद्री उत्खननलाई तीव्रता दिन दबाब दिएपछि यो विषय भूराजनीतिक रूपमा झन् संवेदनशील बनेको छ । अन्तर्राष्ट्रिय जलक्षेत्रमा समुद्री सतहमाथि अधिकार क्षेत्र रहेको अन्तर्राष्ट्रिय समुद्री सतह प्राधिकरणले समुद्रको गहिराइमा उत्खननलाई नियमन गर्न विश्वव्यापी आचारसंहिता लागु गर्ने प्रयास गरिरहेको छ ।
यद्यपि जापानको यो परीक्षण मिसन आफ्नै क्षेत्रीय जलक्षेत्रभित्र सम्पन्न गरिएको सरकारको भनाइ छ । द इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्रेटेजिक स्टडिजका अनुसन्धान सहयोगी ताकाहिरो कामिसुनाका अनुसार यदि जापानले मिनामी तोरिशिमाको वरिपरि दुर्लभ पृथ्वी निरन्तर र सफलतापूर्वक निकाल्न सके प्रमुख उद्योगका लागि घरेलु आपूर्ति शृङ्खला सुरक्षित हुने छ ।
उहाँका अनुसार यसले चीनमाथिको आपूर्ति निर्भरतालाई उल्लेखनीय रूपमा घटाउने भएकाले ताकाइची सरकारका लागि यो एक महत्त्वपूर्ण रणनीतिक सम्पत्ति सावित हुन सक्छ । बेइजिङले लामो समयदेखि दुर्लभ पृथ्वी तत्वमा आफ्नो प्रभुत्वलाई भूराजनीतिक लाभका लागि प्रयोग गर्दै आएको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार विश्वको दुर्लभ पृथ्वी उत्खनन उत्पादनको करिब दुई तिहाइ र परिष्कृत उत्पादनको ९२ प्रतिशत हिस्सा चीनको नियन्त्रणमा छ ।


प्रतिक्रिया