मादुरोको रिहाइको माग गर्दै भेनेजुएलाको सडकमा हजारौँको प्रदर्शन

मादुरोको रिहाइको माग गर्दै भेनेजुएलाको सडकमा हजारौँको प्रदर्शन



काठमाडौं । अमेरिकी सैन्य कारबाहीमार्फत अपदस्थ भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मादुरोका हजारौँ समर्थकहरूले राजधानी कराकसमा प्रदर्शन गर्दै उनको रिहाइको माग गरेका छन् ।

लागूऔषध ओसारपसारको आरोपमा न्युयोर्कमा मुद्दा चलाउन मादुरोलाई नाटकीय रूपमा सत्ताच्युत गरी लगिएको ठिक एक महिना पुगेको दिन ‘भेनेजुएलालाई निकोलस चाहिन्छ’ भन्ने नाराका साथ मंगलबार भीड सडकमा उत्रिएको हो ।

मादुरोपछिको सत्ता सम्हालेकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिग्वेज अहिले कठिन मोडमा छिन् । उनले एकातिर वासिंटनको समर्थन जोगाउनुपर्ने छ भने अर्कोतिर आफ्नै सरकारभित्रका मादुरोका कट्टर समर्थक र जनताको भावनालाई पनि सम्बोधन गर्नुपर्ने चुनौती छ ।

सरकारी आह्वानमा आयोजना गरिएको यो प्रदर्शनमा धेरैजसो सार्वजनिक क्षेत्रका कर्मचारीहरू सहभागी थिए, जसले मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसका तस्बिरहरू बोकेका थिए । सिलियालाई पनि अमेरिकाले पक्राउ गरिएको थियो ।

ट्रकमा बजिरहेको संगीतका साथ सयौँ मिटर लामो जुलुसको नेतृत्व गर्दै मादुरोका छोरा तथा नेशनल एसेम्बलीका सदस्य निकोलस ‘निकोलासितो’ मादुरो गुएराले भने, “यी जनता अमेरिकी होइनन्, हामीले गहिरो साम्राज्यवादविरोधी चेतना हासिल गरेका छौँ ।”

प्रदर्शनकारीहरूले भेनेजुएलाको झण्डा फहराउँदै ह्युगो चाभेज र मादुरोको समाजवादी आन्दोलनको प्रतीक रातो रङको पहिरन लगाएका थिए ।

५८ वर्षीय नगरपालिका कर्मचारी जोसे परडोमोले मिश्रित भावना व्यक्त गर्दै अन्तरिम राष्ट्रपति रोड्रिग्वेजका निर्णयहरूको समर्थन गरे पनि ढिलोचाँडो पूर्वराष्ट्रपतिलाई रिहा गर्नुपर्ने माग गरेका थिए ।

अन्तरिम राष्ट्रपति रोड्रिग्वेज विगतमा मादुरोकी उपराष्ट्रपति तथा कट्टर समर्थक थिइन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोड्रिग्वेजले वासिंटनको नीति, विशेषगरी भेनेजुएलाको विशाल तेल भण्डारमा पहुँच दिने सर्त मानेमा, उनीसँग काम गर्न इच्छुक रहेको बताएका छन् ।

अमेरिकी दबाबबीच रोड्रिग्वेजले राजनीतिक बन्दीहरूलाई रिहा गर्न सुरु गरेकी छिन् भने राष्ट्रियकरण गरिएका हाइड्रोकार्बन उद्योगहरूलाई निजी लगानीका लागि खुला गरेकी छिन् । यो सँगै सन् २०१९ देखि टुटेको कूटनीतिक सम्बन्ध पुनः सुरु भएको छ ।

मंगलबार नै राजधानीमा सयौँ विश्वविद्यालयका विद्यार्थी र राजनीतिक बन्दीका आफन्तहरूले पनि प्रदर्शन गर्दै रोड्रिग्वेजले प्रतिज्ञा गरेको ‘आममाफी कानुन’ तत्काल अनुमोदन गर्न माग गरेका छन् ।

यो कानुन अझै सदनमा पेस भएको छैन, जसको नेतृत्व अन्तरिम राष्ट्रपतिका भाइ जोर्गे रोड्रिग्वेजले गरिरहेका छन् । विपक्षी सांसद स्टालिन गोन्जालेजले एएफपीलाई बताएअनुसार यस कानुनमाथि बिहीबार पहिलो छलफल हुने अपेक्षा गरिएको छ ।