काठमाडौं । नाइजेरियामा हालै भएका श्रृंखलाबद्ध आक्रमणपछि अमेरिकाले त्यहाँ आफ्नो सेना पठाएको छ । अमेरिकी–अफ्रिका कमान्डका प्रमुख जनरल ड्याग्विन आर. एम. एन्डरसनले यसबारे जानकारी दिएको एपीले जनाएको छ ।
जनरल एन्डरसनका अनुसार गत वर्ष रोममा नाइजेरियाका राष्ट्रपति बोला टिनुबुसँग भएको भेटवार्तापछि यो निर्णय लिइएको हो ।
उनले भने, “संवादपछि दुई देशबीचको सहयोग बढेको छ । सोहीअन्तर्गत निश्चित क्षमताका साथ नाइजेरियाली सेनालाई सहयोग गर्न अमेरिकी टोली त्यहाँ पुगेको छ ।”
यद्यपि, यो टोली कहिले नाइजेरिया पुग्यो भन्नेबारे आधिकारिक मिति खुलाइएको छैन । गत डिसेम्बर २५ मा अमेरिकाले इस्लामिक स्टेटसँग आबद्ध एक आतंकवादी समूहमाथि हवाई हमला गरेपछि दुई देशबीचको सैन्य सहकार्य अझ मजबुत बनेको छ ।
अमेरिकाले नाइजेरियालाई पहिलेदेखि नै सैन्य उपकरण, गुप्तचर जानकारी र निगरानी मिसनहरूमा सहयोग गर्दै आएको छ । तर, हालै सुरु गरिएको यो नयाँ सैन्य सहयोगका सर्तहरू भने सार्वजनिक रूपमा स्पष्ट पारिएको छैन ।
सैन्य सहयोग बढे पनि नाइजेरिया हाल अमेरिकाको राजनीतिक तथा कूटनीतिक दबाबमा छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियाले आफ्ना इसाई नागरिकहरूको सुरक्षा गर्न नसकेको आरोप लगाएका थिए ।
यसपछि अमेरिकाले नाइजेरियालाई ‘विशेष चासोको देश’को सूचीमा राखेको छ, जुन धार्मिक स्वतन्त्रता उल्लंघन गर्ने देशहरूलाई दिइने दर्जा हो ।
नाइजेरियाली सरकारले भने ‘इसाई नरसंहार’को आरोपलाई पूर्ण रूपमा खण्डन गर्दै आतंकवादी समूहहरूले धर्म नहेरी सर्वसाधारणलाई निशाना बनाउने गरेको दाबी गरेको छ ।
नाइजेरिया लामो समयदेखि ‘बोको हराम’ र ‘इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स’जस्ता सशस्त्र समूहहरूसँग जुधिरहेको छ ।
गत महिना मात्रै उत्तर–पश्चिमी कडुना राज्यमा एक सशस्त्र समूहले तीनवटा चर्चमा एकसाथ आक्रमण गरी १६८ जनाको अपहरण गरेको थियो । यस्ता घटनाहरूले देशको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाइरहेका बेला अमेरिकी सैन्य उपस्थितिलाई अर्थपूर्ण मानिएको छ ।


प्रतिक्रिया