जापानकी प्रधानमन्त्री ताकाइची भारी बहुमततर्फ अग्रसर

जापानकी प्रधानमन्त्री ताकाइची भारी बहुमततर्फ अग्रसर



काठमाडौं । प्रधानमन्त्री सानाए ताकाइचीको नेतृत्वमा जापानको सत्तारुढ पार्टी आइतबारको ‘स्न्याप इलेक्सन’ (आकस्मिक निर्वाचन)मा भारी बहुमततर्फ अग्रसर भएको छ ।

ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)को नेतृत्वमा रहेको गठबन्धनले जापानको प्रतिनिधिसभाका ४६५ सिटमध्ये ३५२ सिट जितेको सार्वजनिक प्रसारक एनएचकेले संकलित तथ्यांकले देखाएको छ, जसमा एलडीपीले एक्लै ३१६ सिटको बहुमत हासिल गरेको छ ।

देशकी पहिलो महिला प्रधानमन्त्रीले पार्टी नेता बनेको चार महिनामै चुनाव घोषणा गर्दै स्पष्ट जनादेश खोजेकी थिइन् । उनको यो सफलता दुई अघिल्ला उत्तराधिकारीहरूको अवस्थासँग ठीक विपरीत देखिएको छ ।

यसअघि भ्रष्टाचार र बढ्दो खर्चका कारण पार्टीले संसदीय बहुमत गुमाएको थियो ।ताकाइचीले पार्टीले बहुमत नपाएमा राजीनामा दिने वाचा गरेकी थिइन् ।

केहीले यो ‘स्न्याप’ निर्वाचनलाई ठूलो जुवा मानेका थिए ।एलडीपीले २०२४ मा संसद्का दुवै सदनमा बहुमत गुमाएको थियो । दसकौँ पुरानो कोमेइतो पार्टीसँगको गठबन्धन कमजोर बनेको थियो ।

तर, ताकाइचीको व्यक्तिगत लोकप्रियताले पार्टीलाई पुनः उकासेको देखिन्छ, जसको सरकारको स्वीकृति दर ७० प्रतिशतभन्दा माथि नै रहँदै आएको छ ।

एलडीपीको वर्तमान गठबन्धन साझेदार जापान इनोभेसन पार्टीले ३६ सिट जितेको छ । विपक्षीहरूले संयुक्त रूपमा ११३ सिट जितेको एनएचकेको तथ्यांकले देखाएको छ ।

आधिकारिक रूपमा पुष्टि भएपछि यो चुनावी सफलताले ताकाइचीलाई आफ्नो संरक्षकवादी एजेन्डा अघि बढाउन व्यापक आधार प्रदान गर्नेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो अनुमानित जितमा ताकाइचीलाई बधाई दिइसकेका छन् । उनलाई उच्च सम्मानित तथा अत्यन्त लोकप्रिय नेत्री भनेका छन् ।