नोबेल शान्ति पुरस्कार विजेता मोहम्मदीलाई इरानमा ६ वर्षको जेल सजाय

नोबेल शान्ति पुरस्कार विजेता मोहम्मदीलाई इरानमा ६ वर्षको जेल सजाय



काठमाडौं । इरानको अदालतले नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदीलाई ६ वर्षको जेल सजाय सुनाएको छ ।

सरकारविरोधी प्रदर्शनमा भाग लिएको आरोपमा उनलाई सजाय सुनाइएको उनका वकिल मुस्तफा निलीले बताए ।प्रचार गतिविधिको लागि डेढ वर्षको थप सजाय पनि तोकिएको छ ।

वकिलले स्वास्थ्य समस्याका कारण उनलाई उपचारका लागि जमानतमा रिहाइ हुनसक्ने आशा व्यक्त गरेका छन् ।

५३ वर्षीया मोहम्मदीलाई गएको २५ वर्षमा मृत्युदण्डको विरोध र महिला अधिकारको अभियानका कारण पटकपटक जेल चलान गरिएको छ । उनले पछिल्लो दशकको धेरैजसो समय जेलमा बिताएका छन् ।

सन् २०१५ देखि पेरिसमा बस्ने आफ्ना जुम्ल्याहा बच्चाहरूलाई पनि भेट्न पाएकी छैनन् । जेलभित्र पनि उनी महिला अधिकारका लागि सक्रिय छन् ।

मोहम्मदीले सन् २०२३ मा नोबेल शान्ति पुरस्कार पाएको थियो तर जेलमा हुनुका कारण उनका छोराछोरीले पुरस्कार लिएका थिए ।