काठमाडौं । गोप्य आणविक विस्फोट परीक्षण गरेको भन्ने अमेरिकाको आरोप चीनले अस्वीकार गरेको छ ।
चीनले यसलाई पूर्ण रूपमा झुटो भन्दै वासिङटनले आफ्नै परीक्षण पुनः सुरु गर्न बहाना बनाउन खोजेको आरोप लगाएको छ ।
जेनेभामा आयोजित संयुक्त राष्ट्रसंघ निरस्त्रीकरण सम्मेलनमा शुक्रबार अमेरिकी विदेश मन्त्रालयका आणविक नियन्त्रणसम्बन्धी उपसचिव थोमस डिनान्नोले चीनले यस्ता परीक्षण गरेको आरोप लगाएका थिए ।
सन् २०२० जुन २२ मा एक यस्तो परीक्षण गरिएको उनले जिकिर गरेका थिए । चीनले ठूलो क्षमताका थप परीक्षणको तयारी गरेको उनले आरोप लगाएका थिए ।
“अमेरिकाको आरोप पूर्ण रूपमा आधारहीन र स्पष्ट झुटो हो । आफ्नै आणविक परीक्षण पुनः सुरु गर्न बहाना खोज्ने अमेरिकी प्रयासको चीन दृढतापूर्वक विरोध गर्छ,” चीनको विदेश मन्त्रालयले सोमबार एएफपीसँग भनेको छ ।
मन्त्रालयले अमेरिकालाई तुरुन्तै आफ्ना गैरजिम्मेवार कार्य रोक्न पनि आग्रह गरेको छ ।


प्रतिक्रिया