तेहरान । इस्लामिक क्रान्तिका नेता आयातोल्ला सैय्यद अली खामेनीले इस्लामिक क्रान्तिको वार्षिकोत्सवको अवसरमा इरानी राष्ट्रलाई एकता र दृढ सङ्कल्प प्रदर्शन गर्न आग्रह गरेका छन् ।
यस्तो राष्ट्रिय स्थिरताले देशका शत्रुलाई निराश पार्ने उहाँको भनाइ रहेको इरानी राज्य प्रसारणकर्ता प्रेस टिभीले जनाएको छ ।
इस्लामिक क्रान्तिको ४७ औँ वार्षिकोत्सव मनाउन फेब्रुअरी ११ का लागि तय गरिएको र्याली अघि जारी गरिएको टेलिभिजन सन्देशमा आयातोल्ला खामेनीले यस अवसरलाई इरानको शक्ति, गरिमा र सामूहिक दृढताको प्रभावशाली प्रदर्शनको रूपमा चित्रण गर्नु भएको छ ।
“बहमान २२ (फेब्रुअरी ११) हरेक वर्ष इरानी राष्ट्रको शक्ति र मर्यादा उजागर हुने दिन हो”, उनले भने ।
उनले इरानी जनतालाई दृढ, लचिलो, प्रशंसनीय र आफ्नो परिस्थितिबारे पूर्ण रूपमा सचेत राष्ट्रको रूपमा वर्णन गरे ।
उनले ११ फेब्रुअरी १९७९ मा इरानले ‘विदेशी हस्तक्षेप’बाट आफूलाई मुक्त गर्दै ‘ठूलो विजय’ हाँसिल गरेको स्मरण गराए । तर त्यसयता बाह्य शक्तिले ती उपलब्धिलाई उल्ट्याउने प्रयास निरन्तर गरिरहेको उनको भनाइ छ ।
यस ऐतिहासिक पृष्ठभूमिमा जोड दिँदै आयातोल्ला खामेनीले ‘इरानी राष्ट्र दृढतापूर्वक उभिएको छ’ भनेर पुनः पुष्टि गरे । “यस स्थिरताको प्रतीक बहमान २२ हो”, उनले भने ।
उनले वार्षिक वार्षिकोत्सव र्यालीलाई ‘अतुलनीय’ भन्दै अन्य कुनै पनि देशले हरेक वर्ष यति व्यापक र निरन्तर सार्वजनिक सहभागितासहित आफ्नो स्वतन्त्रता मनाउने उदाहरण नदेखिने बताए ।
“यी र्यालीले ‘इरान र यसको हितमाथि लोभ राख्नेलाई पछि हट्न बाध्य पार्छन्”, उनले स्पष्ट पारे । यसले बाह्य महत्त्वाकांक्षालाई रोक्ने महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।
राष्ट्रिय शक्तिको वास्तविक आधारबारे उल्लेख गर्दै आयातोल्ला खामेनीले ‘राष्ट्रिय शक्ति मिसाइल र विमानभन्दा पनि राष्ट्रको इच्छा र उनीहरूको दृढतासँग बढी सम्बन्धित हुन्छ’ भने । उनले नागरिकलाई जीवनका सबै क्षेत्रमा सङ्कल्प कायम राख्न आग्रह गरे ।
“शत्रुलाई निराश पार्नुहोस्”, उनले भने । विरोधी निरुत्साहित नभएसम्म राष्ट्र जोखिममा रहन सक्ने उहाँको चेतावनी थियो ।
उनले एकता, बलियो इच्छाशक्ति, प्रेरणा र बाह्य दबाबको प्रतिरोधलाई इरानको राष्ट्रिय शक्तिलाई आधार दिने मुख्य स्तम्भका रूपमा पहिचान गरे ।
आयातोल्ला खामेनीले देशका युवाले विज्ञान, नैतिक आचरण, भौतिक तथा आध्यात्मिक विकास दुवै क्षेत्रमा अग्रसर हुँदै जाने अपेक्षा व्यक्त गरे ।
यसले राष्ट्रिय गौरव थप मजबुत बनाउने उहाँको विश्वास छ । फेब्रुअरी ११ का र्यालीले यी गुणको प्रतिबिम्ब प्रस्तुत गर्ने उनले बताए । नागरिक एकता, इस्लामिक गणतन्त्रप्रति निष्ठा र राष्ट्रप्रतिको समर्पण देखाउन सडकमा उत्रिने अपेक्षा गरिएको छ ।
उनले यस वर्षको वार्षिकोत्सव कार्यक्रमले विगतका वर्षमा देखिएको ढाँचाअनुसार इरानको अन्तर्राष्ट्रिय र आन्तरिक स्थिति अझ सुदृढ बनाउने आशा पनि व्यक्त गरे ।


प्रतिक्रिया