काराकास । भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जर्ज रोड्रिगेजले देशमा तत्काल नयाँ राष्ट्रपति चयनका लागि चुनाव नहुने स्पष्ट पारेका छन् ।
अमेरिकी सञ्चारमाध्यम न्यूजम्याक्सलाई दिएको अन्तर्वार्तामा उनले अहिलेको मुख्य प्राथमिकता चुनाव नभई देशमा स्थिरता र सरकारी संस्थाहरूको पुनर्संरचना भएको बताए ।
रोड्रिगेजका अनुसार भेनेजुएलाले हाल पुनः–संस्थानीकरणको चरण पार गरिरहेको छ, जसअन्तर्गत न्यायालय, सुरक्षा निकाय, प्रशासन र संवैधानिक संरचनालाई फेरि पूर्ण रूपमा कार्यक्षम र सर्वस्वीकार्य बनाउने प्रयास भइरहेको छ ।
अहिलेको आवश्यकता निर्वाचन नभएर स्थिरता सुनिश्चित गर्नु भएकोमा उनले जोड दिए । भेनेजुएलामा राष्ट्रपति कार्यकाल छ वर्षको हुन्छ ।
पछिल्लो चुनाव २०२४ मा भएको थियो । जसलाई विपक्षी दलहरू र धेरै अन्तर्राष्ट्रिय समुदायले विवादास्पद र अपारदर्शी भनेका थिए ।
त्यसयता देशको राजनीतिक अवस्था थप जटिल बनेको छ । जनवरी ३ मा अमेरिकी सेनाले राजधानी कारकासमा आक्रमण गरेर राष्ट्रपति निकोलास मादुरो र उनको पत्नीलाई समातेर अमेरिका लगेपछि सर्वाेच्च अदालतले उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति नियुक्त गरेको थियो ।
उनलाई सेना र सत्तारूढ समाजवादी पार्टी दुवैले समर्थन दिएका छन् ।नयाँ चुनावको लागि समय तालिका तय गर्नुअघि सरकारले विपक्षका सबै धारसँग वार्ता र सहमति खोज्ने जर्ज रोड्रिगेजले बताए ।
उनका अनुसार राष्ट्रिय मेलमिलाप, राजनीतिक संवाद र संस्थागत स्थायित्व बिना चुनावले थप ध्रुवीकरण मात्र ल्याउनेछ । सरकारले यसबिच केही राजनीतिक बन्दीलाई रिहा गर्ने तथा माफी सम्बन्धी कानुन अघि बढाएको छ ।
यद्यपि विपक्षी दलहरूले यसलाई अपर्याप्त र राजनीतिक चाल भनेका छन् । चुनाव टार्ने निर्णयले मादुरो पक्षलाई सत्ता सम्हाल्न थप समय दिने विश्लेषण आइरहेको छ ।


प्रतिक्रिया