काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान ३२ महिनापछि जेलबाट बाहिर आउन सक्ने भएका छन् ।
उनलाई अदालतबाट कुनै राहत नमिले पनि आँखाको उपचारका कारण बाहिर ल्याइन लागेको बताइएको छ ।
सहबाज सरिफ सरकारले इमरानलाई जेलबाट अस्पताल सार्ने निर्णय गरेको छ । विपक्षी दलले इमरानको स्वास्थ्यसम्बन्धी मुद्दामा संसद् भवन परिसरमा धर्ना दिइरहेका थिए ।
जियो टिभीका अनुसार पाकिस्तानका सूचनामन्त्री अत्ताउल्लाह तरारले इमरान खानको जाँच र उपचार आँखा विशेषज्ञबाट गराइने आश्वासन दिएका छन् ।
त्यसका बाबजुद इमरानको पार्टी पीटीआई र अन्य दलहरूले प्रदर्शन जारी राखेका थिए । यस्तो अवस्थामा मन्त्री फजल चौधरीले खानलाई अस्पताल सार्ने घोषणा गरेका हुन् ।पीटीआईले लगाएका आरोपहरूबारे फजल चौधरीले स्वास्थ्यजस्तो संवेदनशील मुद्दामा राजनीति गर्न नहुने बताए ।
पीटीआईले परिवार र व्यक्तिगत चिकित्सकहरूको स्वीकृति नलिई आफ्नो नेतालाई कुनै अस्पतालमा नसार्न भनेको छ । उनको जाँच कम्तीमा परिवारका सदस्यको उपस्थितिमा गर्न माग गरिएको छ ।
पीटीआईले इमरानका व्यक्तिगत चिकित्सकहरूको अनुपस्थितिमा कुनै पनि चिकित्सा उपचार सुरु नगर्न आग्रह गरेको छ । उनको स्वास्थ्यसम्बन्धी विवरण लुकाउने कुनै पनि प्रयास सह्य नहुने पार्टीको भनाइ छ ।
सरकारले कुनै पनि गोप्य वा एकपक्षीय कारबाही गरे त्यसको नतिजाको जिम्मेवारी लिनुपर्ने चेतावनी पनि दिइएको छ ।सन् २०२३ देखि जेलमा बन्द इमरान खानको एउटा आँखाको ज्योति ८५ प्रतिशत नष्ट भएको बताइएको छ ।


प्रतिक्रिया