सुडानमा ३ दिनमै ६ हजारभन्दा धेरै मानिस मारिएका संयुक्त राष्ट्रसङ्घको प्रतिवेदन

सुडानमा ३ दिनमै ६ हजारभन्दा धेरै मानिस मारिएका संयुक्त राष्ट्रसङ्घको प्रतिवेदन



काठमाडौं । सुडानको अल–फशेर शहरमा अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ) को आक्रमणमा ३ दिनमै ६ हजारभन्दा धेरै मानिसको ज्यान गएको संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले देखाएको छ ।

गएको वर्ष अक्टोबरमा शहर कब्जा गर्दा आरएसएफले नरसंहार, यौनहिंसा र व्यापक मानवअधिकार हनन गरेको प्रतिवेदनमा भनिएको छ ।

शहरभित्र कम्तीमा ४ हजार ४०० जना र शहरबाट भाग्ने क्रममा १ हजार ६०० जनाभन्दा धेरै मानिस मारिएका पीडित र प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

झन्डै ३ वर्षदेखि सरकारी सेना र आरएसएफबीच चलेको गृहयुद्धले १ करोड ३० लाखभन्दा धेरै मानिस विस्थापित भएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार प्रमुख भोल्कर टर्कले सबै पक्षलाई मानवअधिकार हनन तुरुन्त बन्द गर्न अपील गरेका छन् ।

आरएसएफले प्रतिवेदनबारे टिप्पणी गरेको छैन । सन् २०११ मा गृहयुद्धकै कारण सुडानबाट टुक्रिएर दक्षिण सुडान नामको नयाँ राज्य बनेको थियो ।

अहिले सुडानको पूर्वी क्षेत्र सरकारी सेना र पश्चिमी क्षेत्रको ठूलो हिस्सा आरएसएफ लडाकुको कब्जामा छ ।

यसैबीच आरएसएफ निकट सुडान फाउन्डिङ एलायन्सले पश्चिमी क्षेत्रमा समानान्तर सरकार स्थापना गर्ने घोषणा गरेपछि अफ्रिका युनियनले निन्दा गरेको छ ।