ढाका । बङ्गलादेशमा हालै सम्पन्न निर्वाचनपछि निर्वाचित सांसदहरू र भावी प्रधानमन्त्री तारिक रहमानले आज मङ्गलबार संसदको शपथ ग्रहण गरेका छन् ।
सन् २०२४ को घातक जनविद्रोह र त्यसपछिको १८ महिना लामो अन्तरिम सरकारको शासनपछि यो देशमा पहिलो पटक निर्वाचित प्रतिनिधिहरूले कार्यभार सम्हालेका हुन् ।
मङ्गलबार बिहान १०ः४३ बजे ढाकास्थित संसद भवन (जातीय संसद) को शपथ कक्षमा मुख्य निर्वाचन आयुक्त एएमएम नासिर उद्दीनले नवनिर्वाचित सांसदहरूलाई शपथ खुवाएका हुन् ।
शेख हसिनाको १५ वर्षे शासनकाल र त्यसपछिको संक्रमणकालपछि बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का ६० वर्षीय नेता तारिक रहमानले देशको नेतृत्व सम्हाल्दै छन् ।
उनी झण्डै १७ वर्षको निर्वासनपछि गत डिसेम्बरमा मात्र स्वदेश फर्किएका थिए ।
राष्ट्रपति मोहम्मद साहाबुद्दिनले आजै अपराह्न ४ः०० बजे संसदको दक्षिण प्लाजामा प्रधानमन्त्री र मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम रहेको छ ।
परम्परागत रूपमा राष्ट्रपति निवास (बंगभवन)मा हुने यो समारोह यस पटक संसदको खुला प्राङ्गणमा आयोजना गरिएको छ ।
निर्वाचनको नतिजा र राजनीतिक परिदृश्यगत फेब्रुअरी १२ मा भएको निर्वाचनमा बीएनपी नेतृत्वको गठबन्धनले २१२ सिटमा जित हासिल गर्दै स्पष्ट बहुमत प्राप्त गरेको छ ।
यस्तै, जमात–ए–इस्लामी नेतृत्वको गठबन्धनले ७७ सिट जितेर ‘शान्तिपूर्ण र सैद्धान्तिक÷ प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।
अपदस्थ नेत्री शेख हसिनाको अवामी लिग पार्टीलाई भने निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाइएको थियो। हसिना हाल भारतमा शरणमा छिन् ।
एकताको आह्वानशपथ ग्रहणपछि संक्षिप्त सम्बोधन गर्दै भावी प्रधानमन्त्री रहमानले वर्षौँको राजनीतिक शत्रुताले विभाजित भएको देशलाई एकजुट बनाउन र ध्वस्त भएको अर्थतन्त्रलाई पुनर्जीवित गर्न सबै दलहरूलाई ‘एकजुट रहन’ आह्वान गरे ।
उनले नयाँ सरकारको मुख्य प्राथमिकता कानुन व्यवस्थाको बहाली र विकास हुने बताए ।
भारतले बीएनपीको यो जितलाई दुई देशबीचको सम्बन्धमा ‘नयाँ अध्याय’ को रूपमा प्रशंसा गरेको छ ।
भारतीय लोकसभाका सभामुख ओम बिरला शपथ ग्रहण समारोहमा भाग लिन ढाका पुगेका छन् ।


प्रतिक्रिया