इरान र अमेरिकाबीच जेनेभामा दोस्रो चरणको वार्ता

इरान र अमेरिकाबीच जेनेभामा दोस्रो चरणको वार्ता



काठमाडौं । इरान र अमेरिकाबीच स्वीट्जरल्यान्डको जेनेभामा दोस्रो चरणको वार्ता सुरु भएको छ ।

वार्तामा इरानका तर्फबाट विदेशमन्त्री अब्बास अराघची र अमेरिकाका तर्फबाट राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जारेड कुशनर सहभागी छन् ।

वार्ता प्रत्यक्ष नभई मध्यस्थतामार्फत भइरहेको छ । ओमानका विदेशमन्त्री बद्र अलबुसाइदीले दुवै पक्षबीच सन्देश आदान–प्रदान गराइरहेका छन् ।

इरानले जारी कूटनीतिक वार्ता लम्बिन सक्ने जनाएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले वार्ता जारी रहेको र दुवै पक्षले मध्यस्थकर्तामार्फत आफ्नो धारणा राखिरहेको बताएका छन् ।

इरान र अमेरिकाबीचको वार्ता आणविक मुद्दामा केन्द्रित छ ।

आणविक सम्झौतामा पुग्ने र इरानमाथि लगाएको प्रतिबन्ध हटाउने विषयमा सोमबार पनि इरान र आईएईएका महानिर्देशकबीच छलफल भएको थियो ।