मस्को । पश्चिमी मुलुकहरूले प्रतिबन्धको नाममा रुसी तेल ढुवानी तथा तथाकथित ‘छाया जहाज’ जहाज कब्जा गर्न खोजे रुसी नौसेना परिचालन गर्ने चेतावनी एक वरिष्ठ रुसी अधिकारीले दिएका छन् ।
क्रेमलिनका सहयोगी तथा राष्ट्रपति भ्लादिमिर पुटिनका निकट सहयोगी निकोलाइ पात्रुशेभले यस्तो प्रतिक्रिया दिएका हुन् ।
पात्रुशेभका अनुसार बेलायत, फ्रान्स र बाल्टिक मुलुकहरूलाई लक्षित गर्दै रुसले कडा सन्देश दिन आवश्यक भएको बताएका छन् ।
समुद्री सुरक्षा सुनिश्चित गर्ने सबैभन्दा भरपर्दो माध्यम नौसेना हो भन्दै उनले पश्चिमी देशहरूले रुसी जहाजमाथि समुद्री डकैतजस्तै व्यवहार गरिरहेको आरोप पनि लगाए ।
रुसको अर्थतन्त्र सञ्चालनका लागि तेल, अन्न र मलको निर्यात अनिवार्य रहेको उल्लेख गर्दै पश्चिमी शक्तिहरूले रुसको महत्त्वपूर्ण समुद्री व्यापारलाई निशाना बनाइरहेको दाबी पनि उनले गरे ।
विभिन्न समुद्री क्षेत्रमा स्थायी रूपमा बलियो सैन्य उपस्थिति आवश्यक रहेकोमा जोड दिँदै पात्रुशेभले आवश्यक परे टाढाका समुद्री क्षेत्रमा समेत रुसी नौसेना तैनाथ गर्न सकिने सङ्केत पनि गरे ।नाटो गठबन्धनले बाल्टिक सागरस्थित रुसी क्षेत्र कालिनिनग्रादलाई नाकाबन्दी गर्ने योजना बनाएको आरोप पनि उनले लगाएका छन् ।
कूटनीतिक वा शान्तिपूर्ण समाधान निस्किएन भने नौसेनाले कुनै पनि नाकाबन्दी हटाउने उनको भनाइ छ । रुस–पश्चिम सम्बन्ध थप तनावपूर्ण बन्दै गएको समयमा यो अभिव्यक्ति आएको हो ।
युक्रेन युद्धपछि पश्चिमी देशहरूले रुसी तेल र समुद्री व्यापारमाथि कडा प्रतिबन्ध लगाएका छन्, जसले अन्तर्राष्ट्रिय समुद्री सुरक्षा र भू–राजनीतिक तनाव अझ बढ्ने सङ्केत देखिएको छ ।


प्रतिक्रिया