दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनको मुद्दामा अदालतले आज फैसला सुनाउँदै

दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनको मुद्दामा अदालतले आज फैसला सुनाउँदै



काठमाडौं । दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुक योल विरुद्धको ‘विद्रोह’ मुद्दामा त्यहाँको अदालतले आज फैसला सुनाउँदैछ ।

अभियोजन पक्षले सन् २०२४ डिसेम्बरमा सैनिक शासन लागू गर्ने प्रयासको मुख्य योजनाकार रहेको आरोप लगाउँदै उनलाई मृत्युदण्डको माग गरेको छ ।

युनले जारी गरेको सैनिक शासन आदेश केवल ६ घण्टा मात्रै टिके पनि त्यसले देशको राजनीतिक स्थिरतालाई गम्भीर रूपमा हल्लाएको थियो ।

यो कदमका कारण सरकार लगभग ठप्प बनेको थियो भने त्यसपछिको चुनावमा उनको दलले हार व्यहोर्नुपरेको थियो ।

दक्षिण कोरियामा व्यवहारतः मृत्युदण्ड कार्यान्वयन नगर्ने अभ्यास रहेकाले यदि अदालतले मृत्युदण्ड सुनाए पनि त्यो आजीवन कारावाससरह हुने विश्लेषण गरिएको छ ।

फैसला आउनुअघि अदालत बाहिर उनका समर्थकहरू प्रदर्शनमा उत्रिएका छन्, जसले देशमा बढ्दो ध्रुवीकरण देखाएको छ ।

युन यसअघि पनि असफल सैनिक शासन आदेशसम्बन्धी अर्को मुद्दामा दोषी ठहर भई जेल सजाय काटिरहेका छन् । उनीमाथि अझै दुईवटा अन्य मुद्दा विचाराधीन छन् ।