काठमाडौं । दक्षिण कोरियामा पूर्वराष्ट्रपति युन सुक यउललाई जन्मकैदको सजाय भएको छ ।
मार्सल ल घोषणा गरी संसद् परिसरमा सेना परिचालन गरेको प्रकरणमा दोषी ठहर गर्दै अदालतले जन्मकैदको सजाय सुनाएको बीबीसीले जनाएको छ ।
सजाय सुनाइँदा युन पनि प्रत्यक्ष रूपमा उपस्थित थिए । अभियोजनकर्ताहरूले मृत्युदण्डको सजाय हुनुपर्ने माग गरे पनि अदालतले पूर्वराष्ट्रपति यउललाई आजीवन कारावासको सजाय सुनाएको हो ।
दक्षिण कोरियाले सजाय पाएका बन्दीहरूलाई मृत्युदण्ड दिन छाडेकाले मृत्युदण्डको सजाय भनेको पनि व्यावहारिक रूपमा जन्मकैदको सजाय जस्तै हुन्छ ।
सन् २०२४ को डिसेम्बर ३ मा यउलले ‘मार्सल ल’ घोषणा गर्दै व्यवस्थापिकालाई घेरा हाल्न सेना पठाएका थिए ।
६५ वर्षीय दक्षिणपन्थी राजनीतिज्ञ यउलको तत्कालीन घोषणाले सडकमा विरोध प्रदर्शनहरू निम्त्याएपछि त्यसलाई केही घण्टामै खारेज गर्नुपरेको थियो ।
पछि संसदले उनलाई महाभियोग लगाएर पदबाट हटाउनुका साथै शृङ्खलाबद्ध अपराधहरू गरेको आरोप लगाइएको थियो ।
पूर्वराष्ट्रपति यउलले अझै पनि राज्यविरोधी शक्तिविरुद्ध स्वतन्त्रताको रक्षा गर्न त्यो निर्णय गर्नुपरेको दाबी गर्दै आएका छन् ।
उनलाई यसअघि भिन्नाभिन्नै आरोपमा पाँच वर्षको जेल सजाय फैसला भइसकेको छ ।


प्रतिक्रिया