पोर्चुगलकाे लिस्बनस्थित नेपाली राजदूतावासकाे उद्घाटन

पोर्चुगलकाे लिस्बनस्थित नेपाली राजदूतावासकाे उद्घाटन



काठमाडौं । पोर्चुगलको लिस्बनस्थित नेपाली राजदूतावासको ‘चान्सरी’ औपचारिक उद्घाटन भएको छ ।

बिहीबार परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र पोर्चुगलका परराष्ट्र तथा सहयोग मामिलासम्बन्धी सचिव डा.अना इसाबेल जेभियरले राजदूतावासको संयुक्तरुपमा उद्घाटन गरेका थिए ।

नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठकमा भाग लिने सिलसिलामा लिस्बन पुगेका परराष्ट्र सचिव राईले दूतावासको स्थापनामा पोर्चुगल सरकारले गरेको सहयोगप्रति कृतज्ञता प्रकट गर्दै दूतावासले दुवै देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउन सेतुका रूपमा काम गर्ने विश्वास व्यक्त गरे ।

पोर्चुगलका परराष्ट्र सचिवले नेपाली दूतावासको आतिथ्य पाउँदा खुसी व्यक्त गर्दै दूतावासको सहज सञ्चालनका लागि पोर्चुगल सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

लिस्बनस्थित कूटनीतिक समुदायका ‘डिन’ एन्ड्रेस कारास्कोसा कोसोले कूटनीतिक ‘कर्पस्’मा नयाँ सदस्यका रूपमा नेपाली राजदूत प्रकाशमणि पौडेलाई स्वागत गरेका थिए ।

बिहीबार साँझ नेपाली दूतावासले ७६ औँ प्रजातन्त्र दिवसका अवसरमा पोर्चुगलमा रहेका आप्रवासी तथा नेपाली समुदायका संस्थाहरूका प्रतिनिधिहरूको उपस्थितिमा स्वागत समारोह पनि आयोजना गरेको थियो ।